Scroling


सम्पूर्ण महानुभावहरुलाई हार्दिक स्वागत गर्न चाहान्छु। तपाइलाई मनमा लागेका जिज्ञासा तथा केहि सुझाव भए मन खोलेर लेख्नुहुन म हार्दिक अनुरोध गर्दछु।

menubar

Thursday, December 3, 2015

सार्वजनिक प्रशासनमा सुशासनको अभ्यास र चुनौतिहरू

 
लोकराज भुसाल
विषय प्रवेश ः
सार्वजनिक प्रशासन सरकारको प्राविधिक साध्य मात्र होइन, यो त सरकारलाई जीवन्त बनाउने एउटा सशक्त माध्यम हो ।  दर्शनशास्त्रीहरूका अनुसार निजामति सेवाको आधिकारिक अर्थ राज्यको तर्फबाट नागरिकको हैसियतमा कार्य गर्ने निश्चित कार्यविधि र निर्धारित तलब, सुविधा उपभोग गर्ने कलमजीवी, श्रमजीवी, पेशाकर्मीहरूको समूह हो अर्थात् सरकारका नीति तथा कार्यक्रमहरूलाई जनताको घरदैलोसम्म पुर्‍याउने एउटा औपचारिक तथा आधिकारिक सङ्गठित स्थायी संरचना हो । राज्यको उद्भवदेखि हालसम्म आउँदा यो नै राज्य सञ्चालनका निर्विकल्प माध्यम रहँदै आएको छ । भविष्यमा पनि यसको विकल्प पाउने सम्भावना देखिँदैन । यसो हुनुमा निजामति प्रशासनको खास निश्चित विशेष विशेषता र क्रियाशीलता वाहेक अन्य कुनै आधार छैनन् । यसको पूर्ण विकल्पको सम्भावना भएको भए यसलाई जरैदेखि उखलेर र परिवर्तन गरी विकल्पको संरचना खडा गर्ने प्रयास पनि नभएका होइनन् र त्यस प्रकारका चिन्तन र वर्ग पनि हाम्रो समुदायमा उपस्थित छ । तर त्यो सम्भव भएन । यो राजनीतिको अभिन्न अङ्ग र अविछिन्न सहभागीको रूपमा उपस्थित भैरहेको छ । विभिन्न राजनीतिक वैचारिक दर्शनका अनुयायी राजनीतिज्ञहरूले यसका इतिहासिक कालदेखि नै विभिन्न विकल्प सहितको खोजीको प्रयास गरेको पाइन्छ । समाजवादीहरूले यसलाई अवसरवादी बुर्जुवा वर्गको प्रतिनिधिको रूपमा विश्लेषण र व्यवहार गर्दछन् भने लोकतान्त्रिक दर्शनका अनुयायीहरूले यसलाई राज्य सञ्चालनको मुख्य अङ्ग मानेता पनि यसलाई मुक्त कण्ठले प्रशंसा तथा कदर गर्दैनन् वा हिचकिचाउँछन् । निजामति सेवाभित्र लुकेर छिपेर रहेको कर्मचारीतन्त्रीय शैली र संस्कारका कारण उदार लोकतन्त्रवादीहरू यसको खरो आलोचना गर्दछन् । त्यसैगरी राजनैतिक संस्कार र सभ्यताको विकास भैनसकेको समाजमा निजामति सेवाको स्थायी, वृत्ति विकास, अवसरहरूलाई सहजै स्वीकार गर्न नसकी इष्र्या गर्न समेत पछि नपरी अकर्मण्यता देखाउँदै यसको कटु आलोचना गर्दछन् । नागरिक समाज, मानव अधिकारकर्मीहरूले यसलाई समाजका साधन श्रोतको प्रयोग गर्ने भएको हुनाले सधै आलोचना गरिरहेका हुन्छन् । अनुसन्धानकर्ताहरूले समेत वौद्धिक विश्लेषण तथा नविनतम विषयवस्तुको सृजना एवं खोजका लागि पनि यस क्षेत्रलाई आलोचना गर्न पछि पर्दैनन् । यसरी निजामति सेवाप्रति चौतर्फी आलोचना भए पनि सबै प्रकारका असजिलो परिस्थितिबाट आफूलाई परिस्कृत गर्नु, सुध्रिनु, निखारिनु र पारदर्शिता गर्ने, जनताको सेवामा अहोरात्र खटी सेवाग्राहीको मनलाई जित्नु मात्र होइन, आवश्यकता अनुसारको सहज उपस्थिति र गुण स्तरीय मर्यादित एवं जनउत्तरदायी सेवा निरन्तर उपलब्ध गराउन कर्मक्षेत्रमा खटिरहनु वाहेक निजामति सेवाको अर्को वैकल्पिक पथ (मार्ग) हुन सक्दैन, तन, मन, वचन र कर्मले जनताको उत्तरदायी सेवा गर्नु नै नागरिक प्रशासनको प्रमुख र प्राथमिक दायित्व हो । तसर्थ यस सेवाले सधै वचन होइन, विवेक र कर्ममा विश्वास दिलाउनु सक्नु पर्दछ र सँधै जनताको सेवामा समर्पित रहनु पर्दछ ।
निजामति सेवा कानुन कार्यान्वयन गर्ने सरकारको महत्वपूर्ण संयन्त्र हो, जसले सरकारको नीति निर्माण गर्न र विधायिकाबाट निर्माण भएको ऐन, कानुनहरूलाई विना अवरोध प्रभावकारी रूपमा कार्यान्वयन गर्न कटिवद्ध हुन्छ । समाजशास्त्री डेविड बिथमले निजामति प्रशासन राज्यको इच्छाशक्तिलाई व्यवहारमा साकार बनाउने महŒवपूर्ण शक्ति भनी परिभाषित गरेका छन् । यसरी राजनैतिक इच्छाशक्तिलाई व्यवहारमा रूपान्तरण गर्ने महत्वपूर्ण माध्यमको रूपमा निजामति कर्मचारीतन्त्रलाई लिइन्छ । राजनीतिक शक्तिले कर्मचारीतन्त्र विना आफ्नो दृष्टिकोण, मिसन अनुरूपका क्रियाकलापहरूलाई व्यवहारमा कार्यान्वयन गराउन सक्दैन । त्यसैले राजनीतिक प्रणालीको भरपर्दो र विश्वासिलो प्रभावकारी सल्लाहकारी संयन्त्र नै निजामति कर्मचारीतन्त्र हो । राजनीतिज्ञहरूले जनताका पिर, मर्का तथा आवश्यकताहरूलाई बुझेका हुन सक्छन् तर आधुनिक प्रविधि विज्ञानसँग सम्बन्धित विशिष्टकृत ज्ञान र सिप हासिल गरेका नहुन सक्छन् । यस परिस्थितिमा उपर्युक्त ज्ञान, सिप र कला कर्मचारीहरूबाट नै पूर्ति गरिनु पर्दछ । राजनीतिज्ञहरूमा राष्ट्र निर्माण गर्ने आदर्श इच्छाशक्ति सहितको दूरदृष्टि र कर्मचारीतन्त्रमा नविनतम सोच, विवेक, नैतिकता, तथा विज्ञान प्रविधि र कलासम्बन्धी व्यवसायिकता भएमा यी दुबै शक्तिको प्रभावकारी संयोजन र जनउत्तरदायी कार्यदिशा सहित प्रभावकारी कार्यान्वयन गर्न सकेमा मात्र मुलुक निर्माण गर्नु सम्भव हुन्छ । त्यसैले मुलुकमा विधिको शासन र सुशासनलाई साकार, सक्षम बनाउन, राजनीतिज्ञ र कर्मचारीतन्त्रबीच सौहाद्रपूर्ण सम्बन्ध र निश्चित लक्ष्मण रेखा सहित एक–आपसमा भरपर्दो विश्वासिलो वातावरण हुनु पर्दछ । लोकतन्त्र उत्तरदायी र जिम्मेवार व्यवस्था हो । कानुनको सर्वोच्चतालाई आत्मसात गरी कार्य गर्ने संस्कारको विकास भएमा मात्र विधिको शासन र जनउत्तरदायीपूर्ण नागरिक सरकारले साकार, स्थायित्व ग्रहण गर्न सक्दछ । कर्मचारीतन्त्रमा देखिने ढिलासुस्ती, जिम्मेवारी पन्छाउने प्रवृत्ति, दलीय प्रभावका आधारमा वा कुनै दवावमूलक संस्थाको प्रभावमा काम गर्ने मनस्थिति, मौसम अनुसारको रङ फेर्ने (छेपारो) प्रवृत्ति, कामप्रति निष्ठावान इमान्दारिताको कमी हुनु, बढ्दो भ्रष्टाचार, वृत्ति विकासको अनिश्चितता, काम गर्ने उत्प्रेरणाको कमी हुनु, दण्ड, पुरस्कारको यथोचित प्रयोग हुनु नसक्नु, समयानुकुल व्यावसायिक सिप, ज्ञानको विकास गराउन नसक्नु, बढ्दो राजनीतिक हस्तक्षेप, तथा निजामति क्षेत्रमा क्रियाशील ट्रेड युनियनहरूको संस्थागत एवं संस्कारमा विकास हुन नसक्नु जस्ता निजामति प्रशासनका लागि आवश्यक पर्ने मैत्रीपूर्ण वातावरणको अभावले गर्दा निजामति प्रशासनले जुन ढङ्गले बद्लिँदो राजनीतिक परिवेश अनुसार जनउत्तरदायी सेवा प्रवाह गर्न सक्षम हुनु पर्दथ्यो वा जनताको आस्था र विश्वास जित्न सक्नु पर्दथ्यो, त्यो हुन नसकिरहेको मात्र हैन, प्रायः असफल सावित भैरहेको छ । निजामति सेवाको मूल मर्म र कर्तव्य अनुरूप सेवा क्षेत्रमा खरो र अविचलित रूपमा राज्यको अङ्गको रूपमा उपस्थित हुन र गराउनका लागि केही अत्यन्त महत्वपूर्ण कार्यहरू राज्यले प्रभावकारी कार्यान्वयन गराउन कोड तथा इथिक्स लागु गरिनु पर्दछ । ती विषयहरू मूलतः निजामति सेवालाई राजनीतिबाट हस्तक्षेपविहीन बनाउने, सेवालाई व्यावसायिक, दक्ष, क्रियाशील, उत्पादनमुखी, सेवामुखी, तथा जनउत्तरदायी सेवा प्रदायक निकायको रूपमा विकास गर्न जरुरी छ । त्यसका लागि स्वस्थ प्रतिस्पर्धाको आधारमा योग्यता प्रणालीलाई आत्मसात गर्ने, वृत्ति विकासमा पारदर्शिता एवं कुशल गुण स्तरीय व्यवस्थापन, दक्षता अभिबृद्धि समयको सदुपयोग, गुण स्तरीय सेवाको विकास, काम–कारवाहीमा सामाजिक परिक्षण प्रणालीको प्रयोग जस्ता व्यवस्था कार्यान्वयन गराई जनउत्तरदायी सेवाको सुनिश्चितता गराउनु पर्दछ ।
निजामति सेवा सरकारको मुख्य कामको सम्पादनमा र सेवाग्राहीको सेवामा तल्लीन हुनै पर्दछ । अनावश्यक दरबन्दी, दरबन्दी र पद अनुसारको कार्य विनियोजनको अनिश्चितता, भौतिक वातावरणको अभाव भएको कार्यथलो, परम्परागत कार्यशैली, न्यून स्तरको पारिश्रमिक सुविधा तथा शान्ति सुरक्षाको अभाव र उच्च राजनैतिक हस्तक्षेप जस्ता प्रभाव पार्ने तत्वहरूमा आमूल परिवर्तन गरी निजामति सेवालाई जनमुखी व्यावसायिक र कामकाजी अङ्गको रूपमा विकास गरी मूलतः सेवाग्राहीमुखी बनाउनु आजको आवश्यकता हो । सुशासन सञ्चालन तथा व्यवस्थापन र सूचनाको हकसम्बन्धी ऐन लागु भैसकेको सन्दर्भमा यसलाई जीवन्त, जनउत्तरदायी र नागरिकको पक्षमा न्याय दिलाउन कर्मचारीतन्त्र अर्थात् नागरिक प्रशासनबाट गरिने काम–कारवाही, गतिविधि, उपलब्ध गराउने सेवा गुण स्तरीय, मर्यादित, तथा चुस्तदुरुस्त, पारदर्शी र विधिको शासनमा आधारित हुनु पर्दछ र यसलाई उपर्युक्त मूल्य, मान्यता बमोजिम कार्यान्वयन गराउनु पर्दछ ।
अमेरिका लेखक एवं राष्ट्रपति वुड्रो विल्सनले आफ्नो पुस्तक द स्टडी अफ पब्लिक एडमिनिस्टे«सन, १९८७ ए.डी. मा सार्वजनिक प्रशासनलाई राजनीतिबाट पृथक संयन्त्रको रूपमा राज्यका गतिविधिको प्रभावकारिता अभिबृद्धिको माध्यमको रूपमा प्रयोग गरिने स्थायी संयन्त्र भनेका छन् । तसर्थ, सार्वजनिक प्रशासन भन्नाले निम्न अनुसारको खास संयन्त्रहरूलाई जनाउँछ ।
राज्य सञ्चालन गर्ने सरकारको साझेदार निकाय, उद्देश्यपरक पथप्रणालीगत एक सशक्त स्थायी संयन्त्र, जसले विकास सञ्चालनको माध्यमको भूमिका खेल्दछ । कार्यकारी मातहतमा रहने वैधानिक संयन्त्र, जसमा सरकार र नागरिकबीचको सम्बन्ध अन्तरिनिहित हुन्छ । नागरिकको हित र कल्याणका लागि राज्यका साधन तथा श्रोतहरूको परिचालन गर्ने निर्देशित, स्थायी संयन्त्र अर्थात् राज्यको नागरिकप्रति उत्तरदायी स्थायी सरकार हो ।
लोकतन्त्र नागरिकका हक र अधिकार सुरक्षित गरी समाजमा विधिको शासन स्थापना गर्ने उत्कृष्ट राजनैतिक व्यवस्था हो । लोकतन्त्रमा जनताद्वारा चुनिएका जनताका प्रतिनिधिहरूले जनताको नै सेवा गर्ने पद्धति अवलम्वन गरिएको हुन्छ । राज्यसत्ता जनतामा हस्तान्तरण गर्न, समानताको सुनिश्चिता, विधिको शासन, निरङ्कुशता र स्वेच्छाचरिताको अन्त जस्ता मूलभूत चरित्र लोकतान्त्रिक व्यवस्थाका आदर्श हुन् । यिनै मूलभूत सिद्धान्त र आदर्शको जगमा रहेर राजनैतिक व्यवसायको अन्तरनिहित सिद्धान्त र नीतिहरूलाई लोकतान्त्रिक प्रक्रियाबाट नागरिक प्रशासनले कार्यान्वयन गराई नागरिकहरूको सेवा गर्नु पर्दछ । यसैलाई लोकतान्त्रिक व्यवस्थामा सुशासन भनिन्छ ।
नागरिक प्रशासनाबाट सुशासन कायम गर्न÷गराउन देहायका नीति र सिद्धान्तलाई आत्मसात गरी प्रभावकारी कार्यान्वयन गरिनु पर्दछ अर्थात् लोकतान्त्रिक निजामति सार्वजनिक प्रशासन सुशासनका मूलभूत सिद्धान्तहरू यी हुन सक्छन् ।
राष्ट्र र जनताको बृहत् हित गर्ने, समन्याय र समावेशी चरित्र, कानुनको शासन, मानव अधिकारको प्रत्याभूति, पारदर्शिता, वस्तुनिष्टता, जवाफदेहिता र इमान्दारिता भएको अािर्थक सुशासन तथा भ्रष्टाचारमुक्त, जनमुखी भैकन इमान्दारी प्रशासन सेवा, प्रशासन संयन्त्रको तटस्थता, निस्पक्षता तथा दक्षता सहितको कुशल व्यावसायिकता भएको, प्रशासनिक संयन्त्र, निर्णयमा सर्वसाधारणका पहुँच भएको हुनु पर्दछ । विकेन्द्रीकरण तथा अधिकार निक्षेपण प्रत्यायोजन भएको, स्थानीय साधनश्रोतको उपयोग गर्ने क्षमता र जनसहभागिताप्रति समर्पित सिद्धान्तलाई आत्मसात गरिएको प्रशासन नै लोकतान्त्रिक सुशासनप्रति जिम्मेवार सार्वजनिक प्रशासन मान्न सकिन्छ र यसै अनुरूप हुनु पर्दछ ।
सार्वजनिक–निजामति प्रशासनले सुशासनका लागि कार्य सम्पादन गर्दा पालना गर्नु पर्ने मूलभूत कार्यविधि निम्न अनुसारका हुनु पर्दछ ः
निश्चित कार्यावधि अवलम्वन, निश्चित समयावधिभित्र निर्णय गर्नुको साथै निस्पक्ष तथा पारदर्शी निर्णय प्रक्रिया र आधार तथा कारण सहितको निर्णय, निष्कर्ष नबाझिने गरी स्पष्टता सहितको निर्णय गर्ने, सार्वजनिक चासोको विषयमा नागरिकहरूसँगबाट तत्कालको बचावटका लागि जिम्मेवारी पन्छाउने प्रकृतिको अन्त गर्ने, सिप र पेशागत आचरणको पालना गरी मर्यादा सहितको परिय, उत्तरदायित्व सेवाग्राहीको सम्मानमा आधारित बनाउने, सेवालाई मितव्ययी तथा पारदर्शी बनाउन नागरिकता वडा पत्रको प्रयोजन, सार्वजनिक सुनुवाइ, सूचनाको हक, गुनासो सुन्ने संयन्त्र सूचना प्रविधिको उच्च प्रयोग कार्य सम्पादनको अनुगमन, मूल्याङ्कन समिक्षा, तथा अर्धवार्षिक, वार्षिक प्रगति, समीक्षा जस्ता आधारभूत मूल्य, मान्न्यता र संस्कार सहितको सार्वजनिक प्रशासनबाट सुशासनलाई प्रत्याभूत गर्न सकिन्छ ।
नेपालको सार्वजनिक प्रशासनको वर्तमान अवस्था ः
राजनैतिक सङ्क्रमण कालीन जटिल परिस्थितिका कारण स्वाभाविक रूपमा सार्वजनिक प्रशासनमा पनि यसको प्रभाव परेको पाइन्छ । विद्यमान केन्द्रीकृत प्रशासनिक प्रणालीको कार्यान्वयनका कारण जनआन्दोलन २०६२–६३ को परिवर्तनपछि स्थापना भएको लोकतान्त्रिक व्यवस्थामा पनि प्रशासनिक सेवाको पहुँचमा परिवर्तनको अनुभूति गर्न सकिरहेको देखिँदैन । सार्वजनिक प्रशासनमा अझै पनि स्पष्ट तथा वैज्ञानिक साङ्गठनिक संरचना, चुस्तदुरुस्त पारदर्शी तथा जनप्रेमी, जनउत्तरदायी सेवा प्रवाह गर्ने प्रणालीको अभाव, नागरिक सेवा प्रवाहको गुण स्तरीयता, विश्वसनीयता, सेवा प्रवाह, प्रदायकको आचरण, कार्य संस्कृति, कार्यशैली र सोही अनुसारको व्यवहारमा परिवर्तन हुन सकिरहेको छैन । कर्मचारीतन्त्रको आचरणमा सुदृढीकरण भ्रष्टचारितामा न्यूनीकरण, राष्ट्र र राष्ट्रियताप्रतिको भक्तिपूर्ण भावना सहितको आत्मबोध तथा बदलिँदो राजनैतिक व्यवस्था अनुरूप नेतृत्व र प्रशासन संयन्त्रबीचको कुशल अन्तरसम्बन्ध जस्ता महŒवपूर्ण विषयहरू उपर उल्लेखनीय तथा नागरिकले अनुभूति गर्न सकिने परिवर्तन हुन सकेको देखिँदैन । संविधा सभामा ३३ प्रतिशत महिला सहभागिता, उल्लेख्य विभिन्न जाति÷जनजाति, अपाङ्ग, मधेशी, दलित तथा पिछडिएको क्षेत्र लगायतका अल्पसङ्ख्यक तथा सिमान्त वर्गहरूको प्रतिनिधित्व गराउनु राजनैतिक ढङ्गले उत्साहजनक सहभागिता तथा समावेशी चरणको विकासका लागि कोसेढुङ्गा सावित भएको छ । अल्पमतमा रहेको राजनैतिक विचार, दृष्टिकोणको नेतृत्वको प्रतिनिधित्वका लागि गरिएको समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणालीेमा मतदानका व्यवस्था गरिनु लोकतन्त्रको सुन्दर पक्ष मान्न सकिन्छ । त्यसैगरी सार्वजनिक प्रशासनमा समेत सबै जाति, क्षेत्र र वर्गको समावेशीकरणका लागि आवश्यक कोटा प्रणाली कार्यान्वयनमा लैजानु, सिद्धान्ततः विकासोन्मुख मुलुकको चरित्रको रूपमा स्विकार गरिएता पनि दीर्घ कालमा यसको निरन्तरता त्यति उर्वर, उत्तम तथा दिगो विकासका लागि प्रभावकारी बन्न नसक्ने मात्र होइन, प्रतिभाशाली तथा मेधावी जनशक्तिहरूको सार्वजनिक प्रशासनका सेवा क्षेत्रबाट पलायन भै वा प्रवेश नै नगरी सार्वजनिक सेवाको कार्यक्षमता अत्यन्तै कमजोर फितलो र उत्पादन प्रणालीसँग मेल नखाने डम्बिङ सेक्टरको रूपमा विकास हुने सम्भावना देखिरहेको कुरा सार्वजनिक प्रशासनका उत्प्रेरक विद्वानहरूले औल्याइरहेको पाइन्छ ।
यसरी सार्वजनिक सेवामा कोटा प्रणालीको थालनीभन्दा जनशक्तिको उत्पादनको क्षेत्रमा अर्थात् शिक्षा स्वास्थ्य तथा उत्पादन क्षेत्रमा पिछडिएको, आर्थिक रूपले विपन्न वर्गसमुदायलाई विशेष सहयोगका कार्यक्रम सञ्चालनमा ल्याई उनीहरूको क्षमता विकास गराई सार्वजनिक क्षेत्रमा पहुँच बढाइदिन सकेको भए २१ औँ शताब्दीको माग अनुरूपका गुण स्तरीय सार्वजनिक सेवाप्रति कुनै सौदावाजी गर्न आवश्यक पर्ने थिएन । त्यसका साथै आर्थिक रूपले पिछडिएको वर्गसमुदायलाई आवश्यक प्रवद्र्धन गर्नु पर्ने मुख्य दायित्वबाट सरकारका निकायहरू नजानिँदो तरिकाबाट पन्छिन पाइने अवस्था आउने थिएन ।
उपर्युक्त पृष्ठभूमिमा उभिएको नेपालको सार्वजनिक प्रशासनका उल्लेख्यनीय अवस्थाहरू निम्न अनुसार छन् ः
१. सरकारले निजामति सेवा, ऐन–नियमको संशोधन गरी कार्यक्षेत्र सरुवाको थालनी गरेको छ । तर निजामति कर्मचारीहरूको सङ्ख्या कति हुनु पर्ने वा हुने मात्र विषयमा कुनै खास अनुसन्धा, विश्लेषण गरिएको छैन । सामान्यतः जनसङ्ख्याको बृद्धि र सेवाको आवश्यकता अनुरूप मौजुदा जनशक्तिको दरबन्दी अत्यन्त न्यून देखिन्छ ।
२. उत्कृष्ट प्रतिभाहरूलाई सार्वजनिक निजामति सेवामा आकर्षित गर्नुभन्दा पनि विभिन्न कारणबाट ह«ासमेन्ट गराइएको छ, जसबाट प्रतिभा पलायान भइरहेको छ ।
३. कर्मचारीहरूको दैनिक जिविकोपार्जनयोग्य तलब, भत्ता तथा अन्य आवश्यक आवासीय भत्ताको व्यवस्था हुन सकेको छैन । बजार मूल्यको आधारमा एक सानो परिवारको भरणपोषण गराउन सक्ने व्यवस्था गरिएको छैन, जसबाट कर्मचारीहरू अपारदर्र्शी कार्य गर्नका लगि यो वा त्यो ढङ्गबाट संलग्न रहने वातावरण सृजना गरिएको छ ।
४. कर्मचारीहरूलाई सेवा क्षेत्रमा निर्धक्क र शान्तिपूर्ण अवस्थामा सुरक्षित कार्य गर्ने, मैत्रीपूर्ण वातावरण सृजना हुन सकिरहेको छैन । हस्तक्षेप र असुरक्षापूर्ण वातावरण बढ्दै गइरहेकोे छ ।
५. स्थानीय निका, खास गरी गाविसमा कार्यरत कर्मचारीहरूलाई राजनैतिक नेतृत्वको भूमिका समेतको जिम्मेवारी लामो समयसम्म गर्नु पर्दा असुरक्षित र द्वन्द्वमा फस्नु परेको, साथै अराजकता भई अनियमित कार्यहरूको कार्यान्वयनको संस्कार समेत राष्ट्रले बेहोर्नु परिरहेको देखिन्छ ।
६. महिला विकास विभाग तथा हुलाक सेवा विभाग मातहतमा कर्मचारीहरूको सेवा, शर्त, सुविधाको अनिश्चितता तथा विभेदपूर्ण अवस्थताले सेवाका उत्प्रेरणा जगाउन सकिरहेको छैन ।
७. इतिहासमा नै पहिलो पटक निजामति सेवा ऐनमा २४ (घ) १ प्रावधान सृजना गरी बढुवा गरिएको कर्मचारीहरूलाई पद अनुसारको कार्य, जिम्मेवारी नगराउनु केवल स्तर उन्नति तथा पारिश्रमिकको व्यवस्था गरी राष्ट्रसेवकको मनोवल गिराउने र सेवा क्षेत्रमा खटिराख्न उत्प्रेरणा प्रदान गराउन नसकी सेवा तथा उत्पादन क्षेत्रमा ह«ास ल्याइएको छ । यसबाट सार्वजनिक सेवामा अर्को द्वन्द्व विस्तार भई नागरिक प्रशासनमा नकारत्मक प्रभाव परेको छ ।
८. जनउत्तरदायी तथा क्षतिपूर्ति सहितको सार्वजनिक, नागरिक सेवा प्रवाहको ग्यारेण्टी हुन सकेको छैन, जसले गर्दा राजनैतिक परिवर्तनपछि आवश्यक पर्ने आर्थिक तथा सामाजिक परिवर्तन हुन सकिरहेको देखिँदैन ।
९. स्थानीय स्तरका प्रारम्भिक, आधारभूूत सेवा केन्द्रमा खटिई कार्य गर्ने सबै क्षेत्र र विषयका प्राविधिक, कृषि, भेटेरिनरी, स्वास्थ्य वन, इन्जिनियरिङ सर्भे क्षेत्रका प्राविधिकहरूलाई सेवामा आकर्षित तथा समानुकुल दक्षता बृद्धिका अवस्था सृजना गर्न÷गराउन नसकी मर्यादित रूपमा परिचालन गराउन र सेवा उत्पादन क्षेत्रमा पर्याप्त ढङ्गले परिचालन गर्न सकिरहेको देखिँदैन ।
१०. वैज्ञानिक पूर्ण अनुमानयोग्य सरुवा प्रणालीको व्यवस्था नहुँदा यस कार्यमा विभिन्न हस्तक्षेप, प्रभाव पर्न गई सार्वजनिक प्रशासनको मूल्य, मान्यता विपरीत विकृत संस्कृतिको विकास भएको छ ।
११. कर्मचारीहरूको कार्य विवरण तथा वर्गीकरण वैज्ञानिक ढङ्गले भइरहेको छैन तथा मूल्याङ्कन परिपार्टी पनि व्यवस्थित वैज्ञानिक तथा पारदर्शी हुन सकेको छैन, जसले गर्दा कार्यान्वयन मूल्याङ्कन मूलतः असफल एवं विभेदपूर्ण छ । परिणामस्वरूप कर्मक्षेत्रमा कर्तव्यनिष्ठताको बदला पहुँचवालाहरू नै प्रोत्साहन प्राप्त गर्न सक्षम भएको देखिन्छ ।
१२. प्रशासनिक नेतृत्वको संस्कार चरम लघुताभाषबाट प्र्रभावित छ भने राजनीतकि नेतृत्व प्रशासनिक नेतृत्वलाई मूलतः आफ्नो अनुकुल परिचालन गराई हस्तक्षेपकारी संस्कृति उन्मुख रहेको पाइन्छ । फलस्वरूप स्थायी सरकारको रूपमा स्थापित सार्वजनिक प्रशासनको आत्माको मृत्यु हुन लागिरहेको जस्तोे देखिन्छ ।
निजामति सेवाको संरचनात्मक अवस्था ः
निजामति सेवा ऐन २०१३ को कानुनी व्यवस्था अनुसार संस्थागत रूपमा विकास भएको नेपालको निजामति सेवा हाल आएर निजामति सेवा ऐन २०४९ को कानुनी धरातलमा निरन्तरता दिइरहेको देखिन्छ । राज्यका, कार्यपालिका, न्यायपालिका तथा व्यवस्थापिका, संवैधानिक अङ्गहरू तथा कानुन अनुसार गठित समिति, परिषद्हरूमा कार्यरत सबै सेवा समूह, उपसमूहको संरचना नै निजामति सेवा हो । राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्य सचिव पददेखि कार्यालय सहयोगीसम्मका सबै पदहरू समावेश छन् । ७५ वटै जिल्लामा कार्य सञ्चालन भएको सेवा केन्द्र र गाविससम्म सरकारको प्रतिनिधि उपस्थिति भै सेवा उपलब्ध गराउने संयन्त्र भएको यस संरचनामा हाल करिब ८०,००० कर्मचारी कार्यरत छन् । नेपालको जनसङ्ख्याको आधारमा आजभन्दा ४० वर्ष पहिले सृजना गरिएको यो सङ्ख्या हालको कार्यक्षेत्र जनसङ्ख्याको बृद्धि, सेवामा आएका विविधीकरण र सामाजिक रूपान्तरण र राजनैतिक परिवर्तन अनुरूपको आर्थिक, सामाजिक विकासका लागि गुण स्तरीय सेवा सबैका लागि सर्वसुलभ बनाउन यो सङ्ख्या अत्यन्तै न्यून र सङ्कुचित रहेको देखिन्छ । त्यसैले सावजनिक सेवाको पहुँच नागरिको पहुँचमा केवल १५ देखि २० प्रतिशत मात्र सीमित भएको देखिन्छ । अन्तर्राष्ट्रिय मान्यता र देशको वर्तमान परिस्थिति अनुसार जनसङ्ख्याको अनुपातमा १ देखि १.५ प्रतिशतसम्म दक्ष, सिपमुलक जनशक्तिको व्यवस्था गर्नु आजको आवश्यकता रहेको देखिन्छ । यस प्रकारको जनशक्तिको व्यवस्थापन गर्न सके सेवा तथा उत्पादन क्षेत्रमा अपेक्षाकृत परिवर्तन ल्याउन सकिन्छ ।
नेपाल सार्वजनिक–निजामति प्रशासनलाई नजिकबाट नियाँल्दा र यसको विगतको इतिहासको वर्तमानमा समीक्षा गर्दा निम्न अनुसारका मूलभूत सवल पक्षहरू देखिन्छन् ः
१. केन्द्रदेखि स्थानीय नियको वडा तहसम्म निजामति सेवाको संयन्त्र सहितको उपस्थिति रहेको ।
२. न्यून सङ्ख्यामा भए पनि दक्ष एवं सक्षम र विज्ञहरूको समावेश सार्वजनिक सेवामा भएको ।
३. आधुनिक सूचना प्रविधिका विभिन्न साधनहरूको प्रयोग गर्ने प्रणालीको थालनी भएको ।
४. दक्ष, सक्षम जनशक्तिहरूको विकास गर्न ज्ञान, सिप र धारणाका परिवर्तन गराउने कार्यक्रमहरूको कार्यान्वयन पक्ष अवलम्वन गरिएको ।
५. सेवाको स्थायित्व, सुनिश्चित तथा सुरक्षा र स्थायी सामाजिक सुरक्षाको व्यवस्था । ६. सार्वजनिक सेवामा टे«ड युनियन अधिकार र सामाजिक सौदावाजीको अभ्यासको प्रारम्भ भएको ।
नेपालको निजामति सेवाका कमजोरीहरू ः
१. परिवर्तित राजनीतिक व्यवस्था तथा परिस्थिति अनुसार कार्यक्षमता बढाउन     नसक्नु र परिवर्तनवाहकको भूमिका नागरिक सेवामा देखिन सकेको छैन । २. जनसङ्ख्याको अनुपातमा सङ्ख्यात्मक रूपमा कम जनशक्ति भएको र उपलब्ध जनशक्तिमा व्यवसायिक सिप तथा क्षमताको विकास हुन सकेको छैन । ३. सेवाग्राहीप्रति सोझो, स्पष्ट, पारदर्शीपन र जनउत्तरदायी भावनाको कमी देखिन्छ । ४. निर्णय पन्छाउने, जिम्मेवारी वहन नगर्ने र तर्क मात्र होइन, कुतर्क गर्ने प्रकृतिको विकास भएको नागरिक सेवकभन्दा शासकको भूमिकामा रमाउने प्रवृत्ति रहेको  । ५. परिणाममुखी, निजतामुखीभन्दा पनि निरन्तरतामुखी सेवामा निर्भर भएको देखिन्छ । ६. ट्रेड युनियनहरूको वैज्ञानिक व्यवस्थापन, उनीहरूमा ट्रेड युनियन संस्कृतिको विकास गराउन नसक्नु, आधिकारिक ट्रेड युनियनका लागि निर्वाचन गराउन नसक्नु र ट्रेड युनियनलाई लगाम विनाको घोडाको रूपमा विकास गराउनु प्रशासनिक क्षेत्रको अत्यन्तै कमजोर पक्ष मान्न सकिन्छ ।
नेपालको सार्वजनिक प्रशासनमा सुधारका लागि अवलम्वन गरिनु पर्ने महत्वपूर्ण विषयहरू निम्न अनुुसार छन् ः
१. राजनैतिक परिवर्तन र परिवर्तित जनताका अपेक्षा र आकाङ्क्षा अनुरूप उपलब्ध साधन, श्रोतका बीच समन्वय गरी नागरिकका अपेक्षाको पूर्ण सम्बोधन गर्न सक्षम बनाउनु पर्ने ।
२. विश्व परिस्थिति, २१ औँ शताब्दीको नागरिक प्रशासनको आवश्यकता र विकसित प्राविधिक र सूचना प्रणाली अनुरूप पेशाकर्मीहरूको कार्यदक्षता सिप र क्षमता बृद्धि गराउनु, प्रतिस्पर्धात्मक, गुणात्मक तथा परिणामनात्मक नागरिक सेवा प्रवाह गराउन सक्षम बन्ने ।
३. जीर्ण–दीर्घ रोगको रूपमा रहेको निजामति सेवाको अराजकता, भ्रष्टाचार, उत्तरदायित्वविहीन संस्कृति, शैली र प्रकृतिको समूल नष्ट गरी जनमुखी नागरिक सेवा प्रवाह गराउन सक्षम हुनु ।
४. पुरातन, सामन्तवादी कार्यशैली, संस्कृति, प्रविधि र प्रवृत्तिको विस्थापित गरी नविनतम, प्रविधिमूलक रचनात्मक र उत्पादनमूलक तथा लोकतान्त्रिक जनउत्तरदायी सेवा, संस्कृतिको संस्थागत विकास गराउने । ५. सार्वजनिक सेवाको आचरण व्यवहार कार्यशैली, संस्कृतिमा आमूल परिवर्तन गराई परिवर्तनको वाहक शक्ति बनाउने ।६. आन्तरिक तथा बाह्य रूपमा प्रतिस्पर्धी तथा उच्च, दक्ष, क्षमता, वहन जनशक्तिको सामान गर्ने, निजामति प्रशासनको विकास गराई नागरिकहरूबाट गरिने आलोचनाको प्रतिस्थापना र निजामति सेवाप्रति नागरिकको सामानलाई स्थापित गराउने । ७. ट्रेड यूनियनहरूको संस्कृतिमा सकारात्मक विकास गराई उनीहरूबाट गरिने अराजक, एवं हस्तक्षेप कार्य भूमिकाको सट्टा मर्यादित नागरिक प्रशासन र मर्यादित ट्रेड युनियन संस्कृतिको विकास गराई समग्र निजामति सेवामा उत्प्रेरणा जगाउने । ८. सार्वजनिक–निजामति प्रशासनलाई समयानुकुल प्रविधि र प्राविधिक व्यावसायिक सेवा सहितको नागरिक सेवामा आधारित आर्थिक सामाजिक रूपान्तरणको स्थायी मार्गको रूपमा स्थापित गराउने ।
निष्कर्ष ः
उपर्युक्त विभिन्न चुनौतीहरूलाई चिर्दै निजामति, सार्वजनिक प्रशासनलाई वास्तविक रूपमा नागरिकहरूको असल सेवकको र सरकारको कुशल प्रतिनिधिको रूपमा उपस्थित गराउनका लागि निजामति सेवामा रहेका विकृति र विसङ्गतिहरू नातावाद, भ्रष्टाचार, अराजकता, उच्च राजनैतिक हस्तक्षेप, अनुशासनहिनता, काम पन्छाउने प्रवृत्ति, राजनैतिक आड–भरोसा जस्ता कुसंस्कारहरूको समुल नष्ट गर्न दीर्घकालीन दूरदृष्टि र निश्चित राष्ट्र निर्माणको महान् उद्देश्य, जसले नेपाली जनताको सेवा प्रवाहमा सर्वसुलभ पहुँच बढाउन सकोस् । त्यसैगरी यस क्षेत्रमा सङ्कलन जनशक्तिहरूले आफूलाई सम्मानित सेवामा सर्मपित भएको गौरव गर्न सक्षम अङ्गको रूपमा विकास गराउन सक्नु आजको मुख्य कार्यभार हो । यो एकल प्रयासबाट मात्र होइन, सरोकारवालाहरूको प्रभावकारी एकीकृत प्रयासबाट मात्र सम्भव हुन्छ । तसर्थ, सार्वजनकि प्रशासनको नीति, दर्शन र सिद्धान्त अनुसार यस सेवाको संस्थागत विकास गराउन, प्रथम तह यसै क्षेत्र अर्थात् नागरिक प्रशासनको नेतृत्वले मुख्य भूमिका त्याग तथा अन्तरसङ्घर्ष गर्नु पर्दछ । त्यसै गरी यस भेगमा क्रियाशील, कर्मक्षेत्रमा खटेका प्रशासनकर्मीहरूले वास्तवमा राष्ट्र सेवक जनताको सेवकको रूपमा आफूलाई तन, मन, वचन र कर्मले कर्तव्यनिष्ठ भई जनसेवकको रूपमा सावित गराउन सक्नु पर्दछ । त्यसैगरी नागरिकहरूले समेत गुण स्तरीय कार्य सम्पादनका लागि आवश्यक वातावरण सृजना गराउनु पर्दछ । मूलतः राजनैतिक क्षेत्रबाट यसलाई हस्तक्षेपकारी होइन कि यसको सगम्र विकासका लागि प्रवद्र्धन, संरक्षण र संवद्र्धन गरी सक्षम सार्वजनिक सेवाको सुनिश्चितताका लागि राजनैतिक मोर्चाबन्दी सहितको समूहगत कार्यशैलीको अन्त्य गरिनु पर्दछ । राम्रो र असल कार्यसंस्कृतिको विकास, निष्पक्ष, तटस्थ सक्षम प्रशासनको संस्थागत विकास गराउन राजनैतिक हस्तक्षेपको पूर्णतः अन्त्य हुनु पर्दछ । कुशल, सक्षम तथा गुण स्तरीय, व्यवसायिक, तटस्थ र जनउत्तरदायी सार्वजनिक प्रशासनको संरचना निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गराउन सक्ने सार्वजनिक सेवामा कुशल संस्कृतिको विकास गराउनु आजको अपरिहार्य व्यवस्थापकीय आवश्यकता हो ।
सत्तामा नेतृत्व गर्ने राजनैतिक शक्तिहरूको संरक्षणमा बसी पूर्वाग्रही एवं राजनैतिक हस्तक्षेपकारी भूमिकामा सार्वजनिक सेवा क्षेत्रमा संलग्न कर्मचारीतन्त्रले नविनतम, जनउत्तरदायी सेवा गर्ने क्षमताको विकास गर्ने सङ्कल्प सहित प्रण गर्नु पर्दछ । प्रतिपक्षमा क्रियाशील राजनीतिक नेतृत्वद्वारा सत्ता प्राप्तिका लागि सार्वजनिक प्रशासनलाई आफू अनुकुल बनाउन, ट्रेड युनियनहरूलाई उपयुक्त माध्यम, औजारको रूपमा प्रयोग गर्ने संस्कृतिको अन्त गरी विधि र मान्यतामा विश्वास गर्ने सु–संस्कृतिको विकास गराउनु पर्दछ । सार्वजनिक सेवामा क्रियाशील ट्रेड युनियनहरूले आफ्नो विद्यमान कार्यशैली संस्कृतिमा परिवर्तन गरी ट्रेड यूनियनको मूल्य, मान्यता र विधिको शासनको स्थापित मान्यता, लोकतान्त्रिक सँंस्कृतिक अनुरूप सेवा क्षेत्रमा सर्मपित हुँदै असल सँस्कृतिको विकास र सोही अनुरूपको व्यवहार गर्नु पर्दछ । यसो गर्न सकेमा मात्र सार्वजनिक सेवामा अपेक्षाकृत सुधार गरी बदलिँदो प्रतिस्पर्धी अवस्थामा कुशल सार्वजनिक प्रशासनको वैज्ञानिक व्यवस्थापन गरी सेवाग्राहीलाई सर्वसुलभ गुण स्तरीय सेवा प्रवाह गर्न सकिन्छ र सक्नु पर्छ अन्यथा राजनैतिक परिवर्तनपछिको आर्थिक सामाजिक सांस्कृतिक परिवर्तन हुन नसक्दा परिणामस्वरूप लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा समेत नकारात्मक परिणाम आउन सक्ने सम्भावना नकार्न सकिँदैन ।

No comments:

Post a Comment