Scroling


सम्पूर्ण महानुभावहरुलाई हार्दिक स्वागत गर्न चाहान्छु। तपाइलाई मनमा लागेका जिज्ञासा तथा केहि सुझाव भए मन खोलेर लेख्नुहुन म हार्दिक अनुरोध गर्दछु।

menubar

Tuesday, December 1, 2015

नेपालको संविधान-२०७२ का १६ विशेषता

नेपालको संविधान-२०७२ का १६ विशेषता संविधान फेर्न अब नेपाली जनताले आन्दोलन गर्नु पर्दैन २०७२ असोज ३ गते १७:१२ मा प्रकाशित ३ असोज, काठमाडौं । नेपालमा ६ दशक लामो जनसंघर्ष, वलिदान एवं सशस्त्र संघर्षलाई विश्राम लगाउँदै आजबाट देशमा नयाँ संविधान घोषणा हुँदैछ । ६५ वर्ष लामो संवैधानिक इतिहासमा आजको दिन नयाँ युगको सुत्रपात हो । देशमा पहिलोपटक जनप्रतिनिधिमूलक संविधानसभाबाट संविधान बनेको हो । जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा आजबाट साकार भएको छ । यद्यपि केही पार्टीहरु यसको विरोध गरिरहेका छन् । मधेसी र थारु समुदायको अधिकारलाई सम्बोधन नगरिएको भन्दै मधेस केन्दि्रत दलहरु आन्दोलनमै छन् । समान्य असन्तुष्टिका बाबजुद ९० प्रतिशत सभासदको हस्ताक्षरमा पारित भएको संविधान आइतबार साँझ ५ बजे विशेष समारोहका बीच राष्टपति डा. रामवरण यादवले औपचारिक रुपमा जारी गर्दै लागू भएको घोषणा गर्नेछन् । यो संविधानले देशलाई गणतन्त्र, संघीयता र धर्म निरपेक्षतालाई संस्थागत गर्नेछ । गणतन्त्र नेपाल अब ७ प्रान्तको हुनेछ र सुधारिएको संसदीय लोकतन्त्र हुनेछ । आजैबाट राजतन्त्रको इतिहास सदाका लागि वैधानिकरुपमै अन्त्य हुनेछ । राजतन्त्र अब इतिहास बन्नेछ … नयाँ संविधानले २०६२/६३ को जनआन्दोलनको उपलब्धिका रुपमा रहेको लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनेछ । अर्थात राजतन्त्र अब इतिहास बन्नेछ । राष्ट्रपति देशको राष्ट्राध्यक्ष हुनेछन् भने कार्यकारी शक्ति संसदबाट निर्वाचित प्रधानमन्त्रीमा रहनेछ । दोस्रो जनआन्दोलनपछि नै राजतन्त्र हटेर जनताका छोरा राष्ट्रपति बनेका हुन् । अब यो नयाँ संविधानमार्फत संस्थागत हुँदैछ । देश धर्मनिरपेक्ष एवं समावेशी लोकतन्त्रात्मक हुनेछ, जहाँ सबै धर्मलाई स्वतन्त्रता हुनेछ र सनातान धर्मको संरक्षण पनि हुनेछ । हिन्दु राष्ट्र नभए पनि हिन्दुहरुले पुज्ने गाई राष्ट्रिय जनावर हुनेछ । अब केन्द्रमा संघीय सरकार हुनेछ भने सात प्रान्तमा प्रान्तीय सरकारहरु हुनेछन् । संविधानमा सात प्रदेशको मोटो खाका आएको छ । तर, सीमांकनलाई लिएर तराई मधेसमा आन्दोलन भइरहेको छ । त्यहाँ अहिलेसम्म ४० जनाको मृत्यु भइसकेको छ । तर, मधेस र थारु समुदायको असन्तुष्टि सम्बोधनका लागि संघीय आयोगको सिफारिसमा दलीय सहमति गरेर संशोधन गर्ने ठूला तीन दलको प्रतिवद्धता आएको छ । यो प्रतिवद्धतासँगै असन्तुष्ट समदुायको माग पूरा हुने अपेक्षा गर्न सकिन्छ । संविधानमा सबै जाति भाषाहरुलाई मान्यता दिइएको छ । सरकारी काम काजको भाषा भने नेपाली भाषा हुने व्यवस्था गरिएको छ । आमाको नामबाट नागरिकता दिने सक्ने व्यवस्था गरिएको छ । गैरआवासीय नेपालीलाई राजनीतिक अधिकार बाहेकको नागरिकता दिइने भएको छ ।

संविधान-२०७२ का १६ विशेषता

१. भाग ३५ , धारा ३०८ र अनुसूची ९ वटा रहेको यो संविधान लचिलो प्रकारको छ । संविधान परिवर्तन गर्नुपर्ने अवस्था आएमा विगतमा जस्तो आन्दोलन गरिरहनुपर्दैन, संसदको दुई तिहाइ बहुमतबाट संविधान परिमार्जन गर्न सकिन्छ ।

२. संविधानले संघीयतालाई आत्मसात गरेको छ । सात प्रदेशको समग्र खाका आएको छ । यसलाई परिमार्जन गर्न या थपघट गर्न सकिने संविधानभित्रै ठाउँछ । प्रदेशको नामाकरण प्रदेश संसदको दुई तिहाइले गर्नेछ भने सीमांकन आयोगमार्फत हुनेछ ।

 ३. शासन प्रणालीको हकमा संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री रहने संसदीय प्रणाली अपनाइएको छ । राष्ट्रपतिको चुनाव प्रदेशसभा सदस्य र केन्द्रीय संसदका सदस्यहरुले गर्छन् भने प्रधानमन्त्री संसदबाट छानिन्छ ।

४. सरकारलाई अस्थिर बन्न नदिन प्रधानमन्त्रीविरुद्ध सुरुका दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने व्यवस्था गरिएको छ । प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने व्यवस्था गरिएको छ ।

५. संसदमा समावेशी प्रतिनिधित्व हुनेछ । मिश्रति निर्वाचन प्रणाली अपनाइएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभा गरी दुई संसद रहनेछन् । प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिक ११० सहित २७५ सदस्य हुने छन् । राष्ट्रिय सभामा सात प्रदेशबाट निर्वाचित ५६ र राष्ट्रपतिबाट मनोनित तीनसहित ५९ सदस्य हुनेछन् ।

 ६. संघ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचना हुनेछ । केन्द्रमा बढीमा २५ सदस्यीय मन्त्रिपरिषद बन्नेछ । चुनाव हारेका व्यक्ति मन्त्री बन्न पाउँदैनन् । प्रदेश सभा एक सदनात्मक हुनेछ ।

७. सात प्रदेशका कुल सांसद पाँच सय ५० हुनेछ । प्रादेशिक संसदका कुल सांसदको २० प्रतिशत नबढ्ने गरी प्रान्तीय मन्त्रिपरिषद बन्नेछ । केन्द्रमा जस्तै प्रदेशमा पनि प्रत्यक्षतर्फ ६० र समानुपातिकतर्फ कोटामा ४० प्रतिशत सीट संख्या हुनेछ । प्रदेश सभाले आफ्नो राजधानी तय नगर्दासम्म नेपाल सरकारले तोकेको स्थानबाट कार्यसञ्चालन हुनेछ । संविधानमा नै केन्द्र, प्रदेश र स्थानीय सरकारको अधिकार क्षेत्र विभाजन गरिएको छ । प्रदेशसभाको निर्वाचन र प्रदेश सरकार नबन्दासम्म उनीहरुको अधिकार पनि केन्द्रले प्रयोग गर्ने संक्रमणकालीन व्यवस्था गरिएको छ ।

८. संविधानतः नेपाल धर्मनिरपेक्ष राष्ट्र हुनेछ । तर, धर्मनिरपेक्षताको व्याख्या गर्दै भनिएको छ- धर्मनिरपेक्षता भन्नाले सनातनदेखि चलिआएको धर्म, संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता बुझ्नुपर्नेछ ।

९. मौलिक हकसम्बन्धी वृहत व्यवस्था गरिएको छ । महिला र दलितलाई विशेष आरक्षणको व्यवस्था गरिएको छ । शिक्षा, स्वास्थ्य, पर्यावरण लगायतका हकहरुलाई मौलिक हक अन्तरगत राखिएको छ । तर, यसको प्रयोग ‘कानून बमोजिम हुने’ भनेर संकुचन गरिएको गुनासो पनि आएको अवस्था छ ।

१०. न्यायपालिका अन्तरगत केन्द्रमा सर्वोच्च अदालत रहने छ भने सर्वोच्च अदालतमा संवैधानिक इजलास रहने व्यवस्था गरिएको छ । प्रदेशहरुमा उच्च अदालत रहनेछ भने जिल्ला सदरमुकाममा जिल्ला अदालतहरु रहनेछन् ।

११. नागरिकतासम्बन्धी प्रावधानमा वंशजको नागरिकता लिने प्रयोजनका लागि आमा वा बाबुको प्रावधान राखिएको छ । मधेसीहरुको मागलाई पनि नागरिकतामा समेटिएको छ ।

१२. मधेसी, थारु, मुस्लिम, आदिवासी जनजातिका लागि छुट्टाछुट्टै आयोग बनाइने प्रावधान छ । सबै माृतभाषा राष्ट्रभाषा, सरकारी कामकाजको भाषा देवनागरिक लिपिमा नेपाली भाषाको प्रयोग हुनेछ ।

१३. राष्ट्रिय जनावर गाईलाई राखिएको छ । राष्ट्रिय भन्डा र राष्ट्रिय गान यथावत नै राखिएको छ ।

 १४. स्थानीय निकायको हकमा सरकारले गठन गर्ने आयोगले एक वर्षभित्र स्थानीय निकायको पुनर्सरचना गर्नेछ भने त्यसअघि स्थानीय निकायमा अन्तरिम चुनाव गर्ने संक्रमणकालीन व्यवस्था संविधानमा गरिएको छ ।

१५. चार वर्षका लागि निर्वाचित भएका संविधानसभाका सदस्यहरु बाँकी कार्यकालका लागि (बढीमा साढे तीन वर्ष) रुपान्तरित व्यवस्थापिका संसदको सदस्यका रुपमा कायम रहने छन् । तर, ०७४ साल माघभित्रै आम चुनाव घोषणा भएको अवस्थामा उम्मेद्वारी मनोनयनका दिनसम्म मात्रै उनीहरुको पदावधि रहनेछ ।

१६. यो संविधान जारी भएको ७ दिनमा प्रधानमन्त्री, २० दिनमा सभामुख र एक महिनामा राष्ट्रपतिको निर्वाचन गर्ने संक्रमणकालीन व्यवस्था संविधानमा छ । यी पदाधिकारीहरुको चयनको तिथि संसद अधिवेशन चालू नरहेको अवस्थामा अधिवेशन सुरु भएको दिनबाट गणना हुने छ । चालू अधिवेशन अन्त्य भएमा पनि संविधान जारी भएको सात दिनभित्रै अधिवेशन आह्वान गर्नुपर्ने संक्रमणकालीन व्यवस्था छ । - See more at: http://www.onlinekhabar.com/2015/09/328458/#sthash.fMBtxkbC.dpuf

No comments:

Post a Comment