Scroling


सम्पूर्ण महानुभावहरुलाई हार्दिक स्वागत गर्न चाहान्छु। तपाइलाई मनमा लागेका जिज्ञासा तथा केहि सुझाव भए मन खोलेर लेख्नुहुन म हार्दिक अनुरोध गर्दछु।

menubar

Sunday, September 3, 2017

भाद्र १५, पुस्तकालय दिवस “ दशौं राष्ट्रिय पुस्तकालय दिवस" जीवन पर्यन्त शिक्षाका लागि एक स्थानीयतह एक नमूना पुस्तकालय ''

महेन्द्रप्रसाद अधिकारी
अर्थ:

पुस्तकालय शब्द पुस्तक र आलय (घर) दुई पद मिलेर बनेको शब्द हो जसको सामान्य अर्थ पुस्तकहरु संग्रह गरी राखिएको घर भन्ने हुन्छ । जुनसुकै विधि वा प्रकृयाबाट पुस्तकालयमा प्राप्त भएका खरिद तथा उपहार स्वरुपका पाठ्य पुस्तक, पत्रपत्रिका, जर्नल, अनुसन्धानमूलक लेख रचनाहरु, थेसीस, पर्चा श्रव्य तथा दृष्य (अडियो–भिडियो) जस्ता आदि पाठ्य सामाग्रीहरुलाई पाठकले चाहेको वेलामा तुरुन्त दिन सकिने गरि व्यवस्थित तरिकावाट मिलाएर राखिने कोठा, घर वा अफिसलाई पुस्तकालय भनिन्छ । पुस्तकालयबाट हुने गरेका सेवा तथा गतिविधिहरु र पुस्तकबाट पाइने ज्ञानका सामाग्रीहरुलाइ हिजो आजको पुस्तक भन्नाले ईन्टरनेट र ईन्टरनेट सहितको कम्प्यूटरहरु राखिएको कार्यलयलाइ ई-पुस्तकालय वा ईलाइव्रेरी भन्न सकिने गरि पुस्तकालयको परिभाषाको विकास भैसकेको वर्तमान अवस्थामा पुस्तकालयले सूचनाको पहुँच, शैक्षिक सामग्रीहरुको उपलब्धता, विज्ञान र प्रविधिको सर्वव्यापकतालाई सबैको पहुँचसम्म पुर्याउन उल्लेख्य भूमिका निर्वाह गर्छ र गरिरहेको छ । साँच्चै भन्ने हो भने पुस्तकालय शिक्षा आर्जन गर्ने अनौपचारिक स्रोतकेन्द्र हो अनि विज्ञान र प्रविधिको पवित्र थलो भनेर चिनिन्छ ।

यस अवसरमा “जीवन पर्यन्त शिक्षाका लागि एक स्थानीय तह एक नमूना पुस्तकालय“ को नारासहित भाद्र १५ मा देशभर दशौ पुस्तकालय दिवस मनाइँदैछ । राष्ट्रिय पुस्तकालय दिवस मनाउदै गर्दा हाम्र पुस्तकालयहरुमा हाम्रै कर्मचारी, कार्यलय प्रमुख, निकाय प्रमुख, आदिवाट पुस्तकालय प्रशासन र पुस्तकालय सेवा सञ्चालनमा हुने गरेका केही कमि कमजोरीहरु भए सच्याउनको लागि  पुनःस्मरण गर्दै पाठक सेवा, पुस्तकालय सामाग्री, दक्ष जनशक्ति जस्ता पुस्तकालय विकासको विषय सँग सम्वन्धित रहेर एक अर्कामा भएको ज्ञान, सिप र प्रविधिको वारेमा प्रकाश पार्दै पहुच नभएकाहरुलाई पनि हौसला हुने गरी ज्ञानको उज्यालो ज्योति छर्ने शुभ दिन पनि हो।

यसको उद्देश्य :

नेपालमा औपचारिक रूपमा वि.सं. १८६९ भाद्र १५ गते पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिको रूपमा स्मरण गर्दै पुस्तकालय तथा सूचना विज्ञानका क्षेत्रमा भएका गतिविधिहरू एवम् पुस्तकालयको आवश्यकता, पाठ्य सामाग्रीको संकलन, पुस्तकालय नियम, कानुन , पाठक तथा कर्मचारी सेवा र सुविधा बारे जानकारी गराउने, देशभरमा “एक स्थानीय तह एक नमूना पुस्तकालय” पुस्तकालयको स्थापना, संरक्षण र विकासमा सहयोग पुर्याउने, ज्ञान र सूचनाको पहुँच वृद्धि गर्ने, नागरिकहरूमा अध्ययन संस्कृतिको विकास गर्नुका साथै सूचना एवम् ज्ञानमा आधारित सभ्य समाज निर्माणमा सहयोग पुर्याउने जस्ता विविध उद्देश्यका साथ नेपालमा वि.सं.२०६५ देखि भाद्र १५ लाई ‘पुस्तकालय दिवस’ को रूपमा मनाउन सुरू गरिएको हो।

पुस्तकालय दिवसलाई युवा पिँढी बीच लोकप्रिय बनाउन र पठन संस्कृतिको विकास गर्न प्रणय दिवसमा प्रेमी–प्रेमिका बीच गुलावको फूल आदान प्रदान गरे जस्तै पुस्तकालय दिवसमा कम्तिमा एउटा मन परेको पुस्तक किन्ने, अध्ययन गर्ने र आपसमा सकारात्मक अनुभवहरू आदान प्रदान गर्नुका साथै उक्त पुस्तक प्रेमपूर्वक प्रेमी–प्रेमिका, साथी–साथी, शिक्षक–विद्यार्थी, लेखक–लेखक र लेखक–पाठक बीच साटासाट गर्ने र आफूले लेखेका, प्रकाशन गरेका वा किनेका नयाँ पुस्तक पुस्तकालयलाई उपहार दिने नवीन संस्कृतिको विकास गर्न, समय सापेक्ष आधुनिक पुस्तकालय (ई लाइव्रेरी) को विकास तथा यसको प्रयोग विधि सहित हरेक स्थानिय तहमा कम्तिमा एक पुस्तकालय रहनु सान्दर्भिक ठहर्छ ।

कुनै कुनै निजि तथा सरकारी क्याम्पस कार्यालयहरुमा सेवा सुविधाको ख्याल नगरी नाम मात्रको पुस्तकालयको रुपमा स्थापना गर्ने यसको नाममा रकम मात्र असुल गर्ने एउटा कोठामा साइनबोर्ड झुण्ड्याइदिने गर्ने गरेका कार्यलयहरु पनि देखिन्छन भने कतिपयमा पुस्तकालय भए पनि ठिकै हुन्छ नभए पनि हुन्छ जस्तो गरिदिने र यदि छ भने पनि खुले पनि ठिकै छ नखुले पनि किन खुलेन चासो नराख्ने कार्यालय प्रमुखहरु पनि भेटिन्छन् । अन्य कुनै शाखामा वा कहि कतै आर्थिक पक्षसँग गाँसिएका विभागहरु जस्तै कुनै कर्मचारी विदामा वस्दा वा परिक्षा सञ्चालन गर्दा वा फर्म भराउन पर्दा वा विद्यार्थीको भर्ना गर्दा कर्मचारीको खाँचो परेमा पुस्तकालय नै बन्द गरी कर्मचारी खटाउने वा पठाउने परम्परा साथै अन्य कुनै पनि शाखामा कामगर्न सक्षम नभएका वा काम गर्न नसक्ने अवस्थामा पुगेका वा राजनितिक पहुच भएका जसलाइ काम गराउन नसक्ने अवस्थामा रहेका वा आचरण ठिक नभएका कर्मचारीहरु पुस्तकलय शाखा वा विभागमा राख्ने पठाउने वा खटाउने परम्पराको विकास नरोकिए सम्म पुस्तकालयको विकास नहुने भएकाले सुधार्नु पर्ने क्याम्पस र कार्यलयहरु थुप्रै भेटिन्छन् । पुस्तकालय प्रशासन र पुस्तकालय सेवा सुविधा भनेको के हो ? यस सँग सम्वन्धित र सरोकार पक्ष को को हुन? पुस्तकालयलाई सञ्चालन गर्ने तरिका, हेर्ने र बुझ्ने दृष्टिकोण र पुस्तकालयको भविष्य कतिपय कार्यालय प्रमुखहरु र त्यसको आधिकारीक व्यक्ति वा पदाधिकारीमा पनि भर पर्ने विषय हुदोरहेछ।

नेपालमा पुस्तकालयको विकासको लागि जति पनि सेमिनार, सभा, सम्मेलन, तथा पुस्तकालय सँग सम्वन्धित कार्यक्रहरु हुनेगरेका देखिन्छन् ति कार्यक्रमहरुमा पुस्तकालय प्रमुख वा पुस्तकालय कर्मचारी मात्र सहभागी नभएर कार्यालय प्रमुख र पुस्तकालय प्रमुख तथा पुस्तकालयका कर्मचारीहरुलाइ सँगै सहभागी नगराउँदासम्म पुस्तकालयको समस्या र मर्का यथार्थमा बुझ्न र बुझाउन अथवा व्यवहारमा उतार्न कठिन रहेको वर्तमान अवस्थामा नेपाल सरकारको शिक्षामन्त्रालय सँग सम्वन्धित मन्त्री, सचिव, योजनाविध, विश्वविध्यालय सभाका पदाधिकारी, काननुविदहरुवाट ऐन र नियम वनाउने समयमानै कार्यालय प्रमुखलाई समेत समेट्नेगरी पुस्तकालय के हो ? यसको महत्व कति छ यसको फाइदा वेफाइदाहरु र यसको अभावमा वा यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्न नसक्दा उत्पन्न हुने असरहरु, यसबाट प्राप्त हुने राम्रा र नराम्रा प्रतिफलहरुको वारेमा स्पष्ट जानकारी हुन र गराउन जरुरी देखिन्छ । पुस्तकालयको सेवा सुविधा तथा विकासमा देखिएका र हुने गरेका कमि कमजोरीहरुलाई कहाँ के कस्ता समस्याहरु छन् के कसरी विकास गर्न सकिन्छ भनेर सुधार गर्दै जानकालागि सुझाव सहित सम्वन्धित व्यक्ति, र निकाय विच जिल्लास्तरमा रहेका पुस्तकालयका प्रतिनिधिहरु विच भेला तथा छलफल गराउनु नै यसको मूख्य उद्देश्य हो । जनतालाई शिक्षित र राष्ट्रलाई समृद्ध बनाउने उद्देश्यले नेपालमा पुस्तकालय दिवस मनाउन थालिएको हो। हरेक वर्ष भद्र १५ को दिनलाई पुस्तकालय दिवस भनेर यसलाई केवल नारामा सीमित नगरी पाठक, विद्यार्थी, शिक्षक, लेखक तथा प्रकाशक नीतिनिर्माता, राजनीतिक दलका नेता, बुद्यिजिवि लगायत आम नागरिकहरूले आदरपूर्वक सम्झने दिनका रूपमा स्थापित गराउनुपर्छ। पुस्तकालय दिवसको शुभ अवसरमा हामी पुस्तकालय कर्मीहरु, पुस्तकालयका संरक्षकहरु पुस्तकालय विकास समितिमा रहने पदाधिकारीहरु समयले प्रदान गरेको यस ऐतिहासिक जिम्मेवारी प्रति सबै मिलेर सुधार गर्ने प्रण गर्न जरुरी छ ।

यसै गरी पुस्तकालयको आफ्नो छुट्टै भवन र इन्टरनेट जडानको व्यवस्था रहेको भएता पनि हाम्रोे यस वीरेन्द्र वहुमुखी क्याम्पस पुस्तकालमा नेपाल कलेक्सन, रेफेरेन्स सेक्सन, लेनदेन सेवा तथा थेसिस सेवा सञ्चालन गर्न असहज अवस्थाको सिर्जना भैरहेका वर्तमान परिस्थितिमा करिव ४६००० खरिद पुस्तक, ३००० उपहार स्वरुपका पुस्तकहरु र ३००० थेसिसहरु जस्ता सामाग्रीहरुको लिव्रा लाइव्ररी डिजिटल सफ्टवेर मार्फत करिव ३५०० विद्यार्थी, ३००शिक्षक, र ५० कर्मचारीहरुलाइ सेवा गरिरहेका छौ । प्रातः तथा दिवा दुवै सत्रमा पठन पाठन सञ्चालन हुने यस पुस्तकालयमा हाल कार्यरत प्राविधिक कर्मचारीको अभावमा पुस्तकहरुलाइ राम्रो सग व्यवस्थीत गर्न सकिएको छैन। यसै वर्ष देखि ईन्टरनेटको सहायतामा थेसिसहरुलाइ पनि अनलाइन गर्न सकिने व्यवस्था मिलाइएको छ । दक्ष जनशक्तिको अभावमा पुस्तकालयको रेफ्रेन्स शाखा, ईलाइव्रेरी, नेपाल कलेक्सन, जस्ता सेवाहरु बन्दै भइसकेका छन्। दक्ष प्राविधिक कर्मचारीको अभावले पुस्तकालयको स्टक रुममा विषयगत बुक व्यवस्थापन, वाँकी बक्यौता रेकर्ड, स्टक भेरिफिकेसन कार्य, पुस्तक धुल्याउने कार्य लगायत अन्य सेवालाइ चुस्त र दुरुस्त पार्न नसकिएकाले क्याम्पसको समस्याको वारेमा पटक पटक क्याम्पस प्रमुखलाई, क्याम्पस प्रमुख मार्फत त्रि.वि. पदाधिकारीहरुलाई गनासो राख्दा कुनै प्रतिकृया नआएपछि , त्रि.वि. केन्द्रिय पुस्तकालय प्रमुख श्री इन्द्रप्रसाद अधिकारीजयूलाई अवगत गराउँदा पनि समस्या समधान हुने कुनै उपाय अथवा सुझाब बिनानै फर्कन वाध्य हुनुपरेपछि केहि त गर्नै पर्‍यो भन्ने भावनाले यस्तै अवस्था रहिरहेमा विभिन्न विषयगत विभागका विध्यार्थीहरुलाई भोलेन्टीयर सेवामा संलग्न गराएर भएपनि पाठकहरुलाई सेवा प्रदान गर्ने सोच वनाइएको छ। यसको विकासको लागि आवस्यक व्यवस्था मिलाउन सम्वन्धित पक्षको ध्यान जानु जरुरी छ।

आवश्यकता र उपयोगिताः

सामाजिक, राजनीतिक, शैक्षिक र प्रसासनिक जस्ता क्षेत्रहरुमा ज्ञान र सूचनामा आधारित शिक्षित, सभ्य, सुसंस्कृत एवम् समृद्ध समाज निर्माण गर्न सहरदेखि गाउँ गाउँ र हरेक स्थानिय तहका कार्यलयमा वा विद्यालयमा बालबालिकादेखि युवा, बृद्ध अनि शारीरिक रूपमा अशक्त, दृष्टिविहीन तथा श्रवणविहीन आदि सबै प्रकारका पाठकहरूका लागि मैत्रीपूर्ण एवम् विविध पाठ्य, श्रव्य, श्रव्य दृश्य र विद्युतीय सूचना सामग्रीहरूले सुसज्जित आधुनिक पुस्तकालय वर्तमानको आवश्यकता हो।

नेपालको सन्दर्भमा भन्नुपर्दा निजी, शैक्षिक, सामुदायिक गरी विभिन्न किसिमका पुस्तकालय स्थापना भई सञ्चालन तथा व्यवस्थापन हुँदै आएका छन् ।शिक्षाका लागि पुस्तकालय ऐन, नियममार्फत् एक स्थानिय तह एक सार्वजनिक पुस्तकालय ,एक गाउँ एक पुस्तकालय, एक विद्यालय एक पुस्तकालय अर्थात टोलटोलमा अनि हरेक विद्यालयमा सुविधायुक्त पुस्तकालयको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके मात्र पुस्तकालय दिवस सार्थक भएको मानिनेछ। पुस्तकालय ज्ञानको भण्डार पनि हो।

पुस्तकालयबाट हामी हरेक किसिमको ज्ञान पाउन सक्छौ। त्यसैले पनि यो दिवसको महत्व बढेको छ। पढाई मान्छेको जीबनमा एउटा यस्तो कुरा हो जसले जीबन परिबर्तन गर्न सहयोग गर्दछ। किताब बिनाको जीबन निरर्थक हुन्छ र जीवनको कुनै महत्व हुदैन। किताब बिनाको जीबनले ढुंगेयुगको स्मरण गराउँछ। आज समाजमा जति पनि विकास भएको छ, चाहे त्यो सामाजिक होस् चाहे साँस्कृतिक होस, चाहे प्राबिधिक होस, हरेक परिबर्तनमा पुस्तकको ठुलो हात छ। हाम्रो समाजमा अझै पनि धेरै व्यक्तिहरुले पुस्तकको अनुहार पनि देखेका छैनन्। यो दिवसको लक्ष्य पनि हरेक व्यक्तिको हातमा पुस्तक हुनु र त्यसको महत्व बुझाउनु हो।

त्यसमा पनि २०७२ साल बैशाख १२ गतेको विनासकारी भूकम्पका कारण नेपालका थुप्रै शिक्षालय एव केही महत्वपूर्ण पुस्तकालय भवनहरुमा क्षति पुग्नाले तमाम विद्यार्थी वर्ग, खोज अनुसन्धाता, सर्वसाधारण मात्र नभएर समस्त नेपालको शैक्षिक, सामाजिक एवं आर्थिक क्षेत्र नै धराशायी भएको छ । गत साल २०७२ वैशाख १२ को महाभूकम्पले हाम्रो यस वीरेन्द्र वहुमुखी क्याम्पस पुस्तकालय भवन चर्केको र पुस्तक र दराजहरु पनि यत्रतत्र ढलेका कारण भुकम्पबाट अछुतो रहन सकेन विशेष गरि त्रि.वि. केन्द्रिय पुस्तकालय, नेपाल राष्ट्रिय पुस्तकालय, मदन पुरस्कार केशर पुस्तकालय, डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालयलगायत काठमाडौँ उपत्यकाका अधिकांश सार्वजनिक पुस्तकालयका भवन भत्किएका÷चर्किएका कुराहरु विभिन्न लेख रचनाहरुवाट थाहा पाउन सकिन्छ । इतिहासकार दाजुभाइ महेशराज पन्त र दिनेशराज पन्तले संरक्षण गरेका निजी र संशोधन मण्डलका पुस्तकालय भने भूकम्प प्रतिरोधी घर भएकाले -याक, दराज, कुर्सी, टेवल ढले पनि खासै कुनै ठूलो क्षति भएको छैन । भूकम्पपछि अन्यत्र सेवा बन्द भएकाले कतिपय शुभेच्छुकहरु हेर्न एवं अध्ययन गर्न भनी संशोधन मण्डल पुस्तकालयमा समेत पुगे । यस पुस्तकालयमा अन्यन्त्र नभएका हस्तलिखित लक्ष्मीपति–नयराज संग्रहका साथै नेपालको इतिहास, ज्योतिष विद्या र जर्नल गरी करिब १० हजार पुस्तक छन् भन्ने जानकारी ईन्टरनेटमा राखिएका विभिन्न लेख रचनाहरुवाट हामी थाहा पाउन सक्छौ । नेपालकै सबैभन्दा बढी विद्या्र्थीको आकर्षणका रूपमा रहेको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्गतको केन्द्रीय पुस्तकालय पनि भूकम्पका कारण प्रभावित हुँदा विद्यार्थी एवं अनुसन्धानकर्ताहरुले केही समयसम्म कष्ट बेहोर्नुपर्‍यो । उक्त पुस्तकालयलाई महाभूकम्पअघिको अवस्थामा परिणत गर्न आइटी विभागमा काम गर्ने कर्मचारी  एक्सपर्ट एवं लाइबे्ररी प्रोफेसनलहरुको अद्यापि खाँचो छ आवस्यक जनशक्तिको अभावमा स्तरीय र दिनपर्ने जति सेवा प्रदान गर्न सकिरहेको छैन ।

वि. स. २०१६ सालमा त्रि.वि.सँगै स्थापित यो पुस्तकालय हाल ‘अनुसन्धान पुस्तकालय’ का रूपमा सञ्चालिन छ । करिव १२ सय पुस्तकबाट प्रारम्भ भएको यस पुस्तकालयमा हाल साढे तीन लाख किताव तथा करिव २५ हजार पत्रपत्रिका संकलित एवं सुरक्षित छन् । आइएसबिएन नम्बर उपलब्ध गराउने राष्ट्रिय एजेन्सीका रूपमा रहेको यस पुस्तकालयले अक्सफोर्ड विश्वविद्यालयको समन्वयमा अन्तर्रा्ष्ट्रिय अनलाइन, डाटाबेश र किताव निःशुल्क उपलब्ध गरेको छ । हाल मुलुकभरका करिव ५५ क्याम्पस तथा विभिन्न संघ-संस्थाले यो सेवा लिँदै आएका छन् ।हरिहरभवनस्थित नेपाल राष्ट्रिय पुस्तकालय भूकम्पकै कारण इन्जिनियरहरुले बस्न नमिल्ने गरी रातो स्टिकर टाँसिदिएकाले बन्द गरिएको छ । यस पुस्तकालयमा विभिन्न भाषाभाषीका कुल १ लाख पुस्तक, ३ हजारभन्दा बढी शोधपत्र, १ हजार जर्नल र त्यति नै संख्यामा पत्रपत्रिका संकलित छन् । केशरशमशेरको निजी संकलनबाट प्रारम्भ गरिएको केशर पुस्तकालयमा रहेका युनेस्कोको मेमोरी अफ दि वल्र्ड हेरिटेजमा समावेश भएको हजार वर्षभन्दा पुरानो सुश्रुतसंहिता संकलित छ । भूकम्पका कारण यहाँ संग्रहित थुप्रै संख्यामा रहेका सामग्रीहरु खसेर नष्ट भए । ललितपुरस्थित मदन पुरस्कार पुस्तकालय भूकम्पबाट ज्यादै प्रभावित बन्यो ।  भूकम्पका कारण नेपाली वाङ्मयको सबैभन्दा ठूलो अभिलेखालय मानिएको यस पुस्तकालयले पनि धेरै समयसम्म सेवा प्रवाह ठप्प गर्नुप¥यो । वि. सं. २०१३ सालमा स् थापित यस पुस्तकालयमा करिव ३५ हजार पुस्तक, साढे ५ हजार पत्रपत्रिका, ५० हजार तस्बिर, १० हजार हस्तलिखित ग्रन्थ एवं अनेकन श्रव्यदृष्य सामग्री संकलित छन् । यसका साथै साँखु सहरस्थित भजनघरसँगै रहेको वि. २००९ सालपछि स्थापित साँखुकै सबैभन्दा पुरानो उग्रतारा पुस्तकालय पनि भूकम्पको धक्काले क्षतिग्रस्त भएको छ । भूकम्पपछि त्यहाँका सयौ पुस्तक नजिकैको रामभजनघरमा सुरक्षित गरिएको छ । यति मात्र नभएर काठमाडौँ उपत्यका बाहिरको दोलखा जिल्लाकै पुरानो र दुर्लभ मानिएको भीम पुस्तकालयमा पनि भूकम्पका कारण क्षति पुगेको छ । भीमेश्वर नपास्थित स्वयम्भूथानमा अवस्थित २ तले भीम पुस्तकालयभित्र र बाहिर दुवैतिर चर्किएर धराप बनेकाले भूकम्पको धक्काका कारण जीर्ण भएकाले वरपर आवत जावत गर्न सकेत कठिन भएको छ । २००९ सालमा स्थापित त्रिपुरा पुस्तकालय र वि. स. २०१४ सालमा अमेरिकी पुस्तकालयको सहयोगमा स्थापित भैरव लाइब्रेरी २०२३ सालतिर आगजनीबाट ध्वस्त भएका छन्।

यसै गरी पुस्तकालयको आफ्नो छुट्टै भवन रहेको हाम्रोे यस वीरेन्द्र वहुमुखी क्याम्पस पुस्तकालमा करिव ४६००० खरिद पुस्तक , ३००० उूपहार स्वरुपका पुस्तकहरु र ३००० थेसिसहरु जस्ता सामाग्रीहरुलाइ  लिव्रा लाइव्ररी डिजिटल सफ्टवेर मार्फत काम गरिरहेका छौ । हाल प्रयोग गरिएको लिव्रा डिजिटल सफ्टवेरमा वुक क्याटालग , क्लासिफीकेसन, पुस्तक इस्यू, फिर्ता पाठको व्यक्तिगत विवरण , पुस्तकालय कार्ड , विलम्व शुल्क,जस्ता अन्य आवस्यक जो पुस्तकालयको लागि चाहिने कुराहरुको सुविधा भएको यो सफ्टवेर रहदाँ रहदै भोलिका दिनहरुमा अझै परिमार्जित सुविधा सम्पन्न सफ्टवेरको आवश्यकता पर्न सक्ने सम्भावना पनि पुस्तकालय र इलाइव्रेरीको (इन्टरनेटको) विकासले देखाएको छ। यसै वर्ष देखि ईन्टरनेटको सहायतामा थेसिसहरुलाइ पनि अनलाइन गर्न सकिने व्यवस्था गरिएकोछ।

पुस्तकालयको विकासमा देखिएका अवरोधहरुः

नेपालमा अन्य क्षेत्रको तुलनामा मोवाइल, इन्टरनेट, भेइकल, जस्ता इलोक्ट्रोनिक सामानहरुमा विकास नभएको चाहि होइन तर राजनीतिक , सामाजिक, आर्थिक साँस्कृतिक हिसावले मध्यम वर्गका मानिसहरु र त्यो भन्दा तल्लो वर्ग अझैपनि पिडीत छ शिक्षावाट वञ्चित छ । शैक्षिक विकास तथा चेतनाको अभावले , आर्थिक अभावले दुर दराजको जनताहरु अझैपनि मोटर नदेख्ने, चामल नदेख्ने एकसरो कपडाले वर्षदिन धकल्ने यस्ता त कति सुनिन्छ कति आरक्षणको नाममा धनि, नेता, ठुलावडा भनाउदा पहुचवालाहरुले सुविधा उपभोग गरिरहेका छन् । जसरी राजनीतिक हाविका कारण आक्रान्त भएको छ नेपाल त्यसैगरी पुस्तकालयका विकासमा पनि तल उल्लेखित विभिन्न अवरोधका कारणहरु छन् र हुन् भन्न सकिन्छ ।

क) सम्वन्धित कर्मचारीको गैरजिम्मेवारिता र काम प्रति जवाफदेहिता नहुनु ,

ख) सरकारले नै कर्मचारीहरुमा विभिन्न फाँटमा काम गर्ने कर्मचारीहरुको तलव तथा सेवा र सुविधाहरुमा विभेद गर्नु,
ग) तलबको लागि हाजिर गर्ने र काम गरेवापत अतिरिक्त पारीश्रमिकको माग गर्ने,
ङ) दक्ष र प्राविधिक तथ पर्याप्त कर्मचारीको व्यवस्था नहुनु,
घ) कर्मचारीहरुको कार्यविभाजन नहुनु र सम्वन्धित कार्यलय प्रमुखको गैरजिम्मेवारिता,
छ) पुस्तकालय ब्यब्स्थापन तथा सञ्चालन समितिमा समाजका प्रतिष्ठित व्यक्ति, समाजसेवी समवेश नहुनु,
च) समय समयमा कार्यलय प्रमुख, वा जिम्मेवार पदाधिकारीहरुवाट छड्के तथा अनुगमन नहुनु,
ज) बजेट भएर या नभएर आवस्यक पुस्तक, फर्निचर तथा उपकरणको व्यवस्था नहुनु,
झ) कर्मचारीलाई कार्यलय प्रमुखले सेवा र सुविधामा भेदभाव वा काखा र पाखा गर्नु,
ञ) ठुला राजनीतिक दलको संरक्षण, आड भरोसा तथा जागिरमा प्रवेश गर्नु,
ट) शैक्षिक क्षेत्रमा हुने नियुक्तिमा खुल्लम खुल्ला राजनीतिक भागबण्डा गर्नु गराउनु, र गर्न लगाउनु,
ठ) नीति तथा निर्णयहरु तर्जुमा गर्दा, र कार्यन्वयनमा अनावश्यक राजनीतिक दवाव दिनु,
ढ) ठुला राजनीतिक दलहरुले आ आफ्नो भातृसंगठन खोल्न उक्साउने, कार्यलय समयमा सडकमा हुने नारा र जुलुसमा उत्रन र उतार्न वाध्य पार्ने,
ड) दण्ड जरिवाना तथा पुरस्कार र आन्तरिक मूल्याङ्कन जस्ता विषयहरु राजनीतिक दलको इसारामा कार्यन्वयन गर्नु, गराउनु,
ण) सरकारी आड आडम्वरमा आफ्नो दल र विचारमा सहमत राख्ने कर्मचारी दोषि भए पनि कार्यवाहीवाट वचाउन अनेक हत्कण्डा अपनाउने,

पुस्तकालयको वातावरण, संरक्षण र सम्वर्धन :

नेपालमा संस्थागत रूपमा पुस्तकालय स्थापना भएको २०६ वर्ष पूरा भएको छ र पुस्तकालय दिवस दशौं वर्षमा प्रवेश गर्दैछ।पुस्तकालय दिवसको सन्र्दभमा पुस्तकालयको स्थापना र विकासमा सक्रिय योगदान दिने अग्रज व्यक्तित्वहरू र पाठक, पुस्तकालयकर्मी, शिक्षासेवीहरू बीच आपसी अनुभव र जिज्ञासाहरू साटासाट गर्नेदेखि नेपालमा पुस्तकालय दिवस बारे जानकारी गराउने र पुस्तकालयको संस्थागत विकासमा नागरिकहरू र सरकारको भूमिका बारे विविध अन्तरक्रियाहरू गरिंदै आएका छन्। राष्ट्रिय पुस्तकालय दिवस ज्ञानको उज्यालो ज्योति छर्ने शुभ दिन पनि हो। यसलाई केवल नारामा सीमित नगरी पाठक, विद्यार्थी, शिक्षक, लेखक, प्रकाशक, अनुसन्धानकर्ता, नीतिनिर्माता, राजनीतिज्ञ लगायत आम सचेत नागरिक वर्गहरूले आदरपूर्वक सम्झने दिनका रूपमा स्थापित गराउनुपर्छ।

पुस्तकालय परिवार, पुस्तकालय व्यस्थापन समिति, पुस्तकालय समिति, कार्यलय प्रमुख पाठक, शुभचिन्तकहरु सवैले विशेष गरी भवन वनाउँदा स्थानको छनौट,वरपरको वातावरणको ख्याल, भवन परिसरमा फूल वगैचा र सरसफाइ फर्निचरहरु खरीद गर्दा गुणस्तर रहेनरहेको, उपकरणको गुणस्तर छनौट तथा खरिद गर्दा, पाठ्य सामाग्रीहरुको संकलन तथा खरिदमा विशेष ध्यान दिनु उत्तिकै जरुरी देखिन्छ। जसरी विभिन्न सामाग्रीहरुको खरीद र संकलनमा पाठकको रुचिलाइ ध्यान दिनु जरुरी छ त्यसरीनै संकलन भएका उक्त सामाग्रीहरुको आगो, घाम, पानी, मुसा, चोरी , किरा धमिरा , चिसो , मर्मत आदि कुराहरुबाट जोगाउन यसको साथै पुस्तकालय परिसर सुन्दर सफा हराभरा, तथा मनोरम दृष्यको निर्माण, बत्ती, पंखा, पिउने पानीको व्यस्था, शौचालय,  पत्र–पत्रिका पुस्तकालय भित्र र वाहिर स्वच्छ र सफा, वस्ने र पढ्ने फर्निचरहरु सफा, पुस्तकालयमा प्रयोग भएका फोटोकपी जस्ता उपकरणहरुको सरसफाइ सगै सेवाग्राहीलाइ कर्मचारीहरुले तन्मन् लगाएर सुद्दमनले सेवा गरिराख्न पाए हुुन्थ्यो भन्ने जस्ता भावहरु देखिनु आवश्यक हुन्छ

 अन्त्यमा आजको यो दशौ पुस्तकालय दिवसले हामी पुस्तकालयमा कामगर्ने गराउने विधि विधान पालना गर्ने गराउने सवैको मनमष्तिष्कमा पुस्तकालय विकास प्रति केहि सोच र परिवर्तन ल्याउन सफल होस् । दशौ पुस्तकालय दिवशको अवसरमा सहभागी हुनाले यति सुधार गर्न पाइयो भन्ने सुन्न पाइयोस।

धन्यवाद ।
महेन्द्रप्रसाद अधिकारी,
पुस्तकालय अधिकृत
  भाद्र १५,२०७४

No comments:

Post a Comment