Scroling


सम्पूर्ण महानुभावहरुलाई हार्दिक स्वागत गर्न चाहान्छु। तपाइलाई मनमा लागेका जिज्ञासा तथा केहि सुझाव भए मन खोलेर लेख्नुहुन म हार्दिक अनुरोध गर्दछु।

menubar

Wednesday, September 13, 2017

राजनीति र प्रशासनको अन्तरसम्बन्ध

राजनीति र प्रशासनको अन्तर सम्बन्ध

शरदकुमार अधिकारी
“The relation between politics and administration is on again and off again romance.”
राजनीति र प्रशासनको अन्तरसम्बन्धका बारेमा बिभिन्न कोणबाट ब्याख्या बिश्लेषण भएको पाईन्छ । कहींकतै राजनीतिकर्मीहरुले प्रशासनलाई राजनीतिक साध्य पूर्तिको साधन मात्र मानेका छन् भने कसैले राजनीति र प्रशासनलाई दुई पृथक बिषय हुन पनि भनेका छन् । त्यसै गरी कतिपय बिद्वानहरुले राजनीति र प्रशासनलाई एकै सिक्काका दुई पाटाको रुपमा लिएका छन् र उनीहरुले मुलुकको सर्बाङ्गिण बिकासका लागि दुबैको सहकार्य जरुरी छ भनेका छन् । भिन्न धारणा र दृष्टिकोण राख्नेहरुले प्र्रशासनलाई बिभिन्न कोणबाट परिभाषित गरिएको पनि पाइन्छ ।
Public administration is detailed and systematic application of law. Every particular application of law is an act of administration. (Woodro Wilson, 1887)
Public administration is what government does (or does not do), it is a phase in policy making cycle, it is a prime tool for implementing the public interest and it does collectively what can not be done so well individually. (Shafritz and Russell, 1997)
उल्लेखित दुई परिभाषाहरु मध्ये Wilson को परिभाषाले प्रशासनलाई अलगै बिषय र दर्शनका रुपमा स्वीकार गर्दछ भने Shafritz and Russell ले प्रशासनलाई राजनीतिक शैलीबाट परिभाषित गरेका छन् । उनीहरुका अनुसार राजनीति भन्दा बाहिर गएर प्रशासनको अस्तित्व खोज्न गाह्रो पर्दछ । यी दुई परिभाषाहरु यहां सांकेतिक रुपमा मात्र प्रस्तुत गरिएको हो । राजनीति र प्रशासन सम्बन्धी चिन्तन, दर्शन र दृष्टिकोणमा समयको प्रवाहसंगै धेरै परिवर्तन र परिमार्जन भएको पाईन्छ । परम्परागत समाजमा राजनीति र प्रशासन बिच कुनै सिमारेखा थिएन । राज्यको प्रादुर्भावसंगै प्रशासन पनि प्रादुर्भाव भएको थियो र दुबैले गर्ने काम र परिचयमा कुनै भेद थिएन । सन् १८८७ मा Woodro Wilson को The study of administration भन्ने लेख प्रकाशन भए पछि राजनीति र प्रशासनको क्षेत्र बिभाजन भयो । त्यस पछि राजनीति र प्रशासनलाई दुई पृथक बिधाका रुपमा बिकसित गर्न थालियो । FJ Goodnow, LD White जस्ता बिद्धानहरुले Wilson को बिचार प्रति सहमति जनाए । सन् १९३७ मा Chester Bernard को Function of the Executive नामक पुस्तक प्रकाशन भए पछि पुन राजनीति र प्रशासनलाई पृथक रुपमा नहेरी दुबैलाई परिपुरक रुपमा हेरिनु पर्ने धारणा बलियो बन्दै आयो ।
नयां सार्बजनिक ब्यवस्थापनको सिद्धान्तले पुन प्रशासनलाई अराजनीतिक बिषयवस्तु बनाएको छ । प्रशासनको संचालन ब्यावसायिक सिद्धान्त अनुरुप हुनु पर्ने जिकिर गरेको नयां सार्बजनिक ब्यवस्थापनले प्रभावकारी नीति निमार्णका लागि राजनीतिक क्षेत्रले बाह्य बिज्ञ, राजनीतिक सल्लाहकारहरु, दबाब समुह एवं अन्य नाफामुलक संस्थाहरुको सहयोग लिन सक्ने कुरा स्वीकार गरेको छ । बहुचर्चित सुशासनको अवधारणा अनुसार नीति निर्माण र कार्यान्वयनका हरेक पक्षमा जनताको स्वामित्व सृजना गर्न सबै सरोकारवालाहरुको सहभागिता हुनु पर्दछ । सरोकारवालाहरुको सहभागिता नै विवेकी, प्रभावकारी र जनमुखी सेवाप्रवाहको आधार हो भन्ने मान्यता सुशासनको अवधारणाले लिएको छ । उदारबाद, निजीकरण र बिश्वब्यापीकरणका तिता मिठा अनुभब पछि जिम्मेवार सरकारको अवधारणा जन्मिएको छ । जिम्मेवार सरकारका लागि राजनीति र प्रशासन दुबैले जनतालाई केन्द्र बिन्दुमा राखी शासनका हरेक पक्ष र क्षेत्रमा जनताको पहुंच बढाउनुपर्दछ । सरकारको स्थायी संयन्त्रका रुपमा सार्बजनिक प्रशासन आपैmमा प्रजातान्त्रिक बन्न सक्नु पर्दछ । सार्बजनिक स्रोत–साधनको दीगो ब्यवस्थापन मार्पmत मीतब्ययी, कुशल र प्रभावकारी सेवाप्रवाह सुनिश्चित गराउन सक्नु पर्दछ । बिश्वब्यापीकरण र स्थानीयकरणका बिभिन्न दबाबहरु बिच यथोचित सन्तुलन कायम गर्दै जनताका आर्थिक, सामाजिक–सांस्कृतिक र राजनीतिक अवसरहरु सृजना गर्न तल्लिन रहनु पर्दछ । जनजाती, गरीब, दलीत, महिला र बाहिर पारिएका क्षेत्र, बर्ग र समुदायका मानिसहरुको मुलप्रबाहिकरणका लागि स्रोत, साधन र अवसरको न्यायोचित बितरण सुनिश्चित गरिनु पर्दछ । यसरी समयक्रमसंगै राजनीतिक र प्रशासनिक चिन्तनमा देखिएका परिवर्तनसंगै राजनीति र प्रशासन बिचको अन्तरसम्बन्धका आयामहरु पनि परिवर्तन र परिमार्जन भएको पाउन सकिन्छ ।
अन्तरसम्बन्ध सम्बन्धी दृष्टिकोणहरु
१. नीति निर्माणमा राजनीतिज्ञ र प्रशासकको भूमिका सम्बन्धी दृष्टिकोण
नीति प्रक्रियामा राजनीतिज्ञ र प्रशासकको भूमिकाबाट राजनीति र प्रशासनको अन्तरसम्बन्ध निक्र्यौल गर्ने गरिएको पाईन्छ । राजनीति र प्रशासनको अन्तरसम्बन्धको महत्वपूर्ण पक्ष नै नीति निर्माणमा उनीहरुको भूमिका हो भन्ने बारेमा धेरै बिश्लेषकहरु सहमत देखिन्छन् । यस दृष्टिकोण बाट हेर्दा राजनीतिज्ञ र प्रशासकका बिचमा देहायका अन्तरसम्बन्धहरु पहिचान गर्न सकिन्छ ।
a) Slave relation
राजनीति र प्रशासनको द्विबिभाजनको सिद्धान्त (Politics/administration dichotomy) अनुरुप प्रशासनको संचालन र ब्यवस्थापन हुंदा प्रशासकहरुको नीति निर्माणमा कुनै भूमिका रहंदैन । यो सिद्धान्तले नीति निर्माणको काम राजनीतिको हो र प्रशासनको जिम्मेवारी भनेको नीति कार्यान्वयन मात्रै हो भन्ने कुरा मान्दछ । नीति निर्माणमा प्रशासनको यस्तो नल भूमिकाको स्थितिमा प्रशासकहरु राजनीतिज्ञका दास हुन्छन भन्ने कुरा कतिपय बिद्वानहरुले औल्याएका छन् ।
b) Cooperative relation
नीति प्रक्रियामा राजनीति र प्रशासनले आ–आफ्ना किसिमले आ–आफ्नै भूमिका निर्वाह गरेको स्थिति पनि देखा पर्दछ । प्रशासनले आवश्यक सूचना एवं जानकारी दिने, नीतिगत समस्या समाधानका लागि यथार्थ र तथ्यपरक राय सुझाव दिने गर्दछ । त्यसै गरी राजनीतिक क्षेत्रले जनचनहनाको प्रतिनिधित्व गर्दै राजनीतिक मुल्य, मान्यता र संबेदनशीलता अनुरुप नीतिगत निर्णय गर्ने गर्दछ । यस्तो स्थितिमा राजनीति र प्रशासन बिच सहकार्यको सम्बन्ध बिकसित हुन पुग्दछ ।
c) Duality relation
राजनीति र प्रशासन नीति प्रक्रियामा सहकार्य मात्र गर्देनन्, उनीहरुले नीति प्रक्रियामा एक अर्काका कार्य पनि गरिरहेको पाइन्छ । प्रशासकहरुले परम्परागत राजनीतिक क्रियाकलापहरु जस्तै संगठित, सांघुरो र स्पष्ट चाहना राख्ने जनसमुदाय बिच अन्तत्र्रिmया गर्ने अनि राजनीतिज्ञहरु परम्परागत प्रशासनिक कार्यहरु जस्तै सरुवा, बढुवा, नियुक्ति जस्ता क्रियाकलापहरुमा संलग्न हुन पुग्दछन । नीति प्रक्रियामा उनीहरुको मान्यता पनि फरक देखा पर्न सक्दछ । प्रशासकहरुले नीतिमा क्रमिक सुधार चाहन्छन भने राजनीतिज्ञहरु जनचाहना, आफ्नो पार्टीको मान्यता एवं आदर्श अनुरुप छलाङ मार्ने सोच राख्दछन् । अधिकांश बिकाशोन्मुख मुलुकहरुको राजनीतिक क्षेत्र र प्रशासनका बिच यस्तो दोहोरो र मतान्तरको स्थिति प्रसस्त मात्रामा देख्न पाईन्छ ।
d) Converge relation
पछिल्लो समयमा नीति निर्माण कार्यमा प्रशासन र राजनीतिको भूमिकामा कुनै फरक देखिने स्थिति देखिदैन । प्रशासकहरु राजनीतिक पदमा नियुक्त भई राजनीतिक कार्य गर्ने र राजनीतिज्ञहरुले प्रशासनिक जिम्मेवारी सहित कार्य क्षेत्रमा खटिने अवस्था समेत सृजना भएको देखिन्छ । उनीहरु मध्ये को प्रशासक हो र को राजनीतिज्ञ हो भन्ने छुट्याउन नसकिने यस्तो अवस्थाको सम्बन्धलाई सम्मीलनको सम्बन्ध (Converge relation) भन्न सकिन्छ ।
e) Adversarial relation
नीति निर्माणमा प्रशासन र राजनीतिको भूमिकामा द्वन्द सृजना हुने अवस्था पनि देखा पर्दछ । प्रशासकहरुले आफ्नो अनुभव, सुचनामा पंहुच र बिद्यमान कानुनी खाडलको जानकारी एवं नीति निर्माण प्रक्रियाको ज्ञानमा दम्भ गर्ने अनि राजनीतज्ञहरुको राजनीतिक मुल्य मान्यता र जनमत प्रतिको अभिमानले यस्तो द्वन्द देखा पर्दछ । यस्तो द्वन्दको स्थिति पनि परिस्थिति अनुरुप फरक हुन सक्दछ । आ–आफ्ना स्थापित मान्यता अनुरुप कार्य गर्ने सोच राख्दा तिनीहरु बिच निस्क्रिय द्वन्द देखिन सक्दछ भने आ–आफ्ना इच्छा, चाहना, बिचार र उद्धेश्य अनुरुप नीति निर्माण गर्ने सोच राख्दा भने सक्रिय द्वन्दको स्थिति देखा पर्न सक्दछ ।
f) Village life relation
सार्बजनिक नीतिहरु यदाकदा elite model बाट तर्जुमा हुने गरेको पनि पाइन्छ । एउटै सामाजिक परिबेशका राजनीतिज्ञ एवं प्रशासकहरुको चाहना, धारणा र मान्यता एकै किसिमको हुने भएकोले उनीहरु नीति निर्माणको कार्यमा एकदमै समन्वयात्मक रुपमा कार्य गर्दछन् । समुगत फाइदाका लागि एकमत हुने यस्तो सम्बन्ध ठाडो र तर्सो दुबै किसिमको हुन सक्दछ । तेर्सो सम्बन्धले उच्च तहका प्रशासक र राजनीतिज्ञहरुको गठजोड बुझाउदछ भने ठाडो सम्बन्धले तिनीहरु सहित तल्लो तहका राजनीतिज्ञ र प्रशासकहरु समेतको मिलोमोतोलाई जनाउदछ ।
g) Leading relation
राजनीतिक क्षेत्र बढि भारित (over loaded) हुने र आधुनिक राज्य संचालनका हरेक कार्य प्रति अनभिज्ञ रहने गर्दछन् । यसका अतिरिक्त उनीहरुको नीति निर्माणका लागि आवश्यक सूचना, स्रोत र साधनमा पहुंच पनि हुदैन । यसको बिपरित प्रशासकहरुको सबै कुराहरुमा पंहुच हुने भएकाले नीति निर्माणमा उनीहरुको भूमिका तुलनात्मक रुपमा बढि महत्वपूर्ण रहन्छ । नीति निर्माणको यस्तो परिस्थितिमा प्रशासकहरुले राजनीतिज्ञहरुलाई नै नेतृत्व दिने अवस्था सृजना हुन्छ ।
२. सामाजिक प्रणाली दृष्टिकोण
यस दृष्टिकोण अनुसार राजनीतिज्ञ र प्रशासकहरु एउटै सामाजिक प्रणलीका सदस्यको हैसियतमा एक अर्का बिचमा एवं समाजका अन्य सदस्यहरुका बिचमा उनीहरु के कसरी भिन्न छन भनी तुलना गरिएको पाईन्छ । बिशेष गरी उनीहरुको कार्य तथा भूमिकाका लागि हुने नियुक्ति, प्रशिक्षण, बृति श्रृखला एवं उनीहरुको मान्यता र ब्यवहारमा देखिने फरकपनबाट राजनीतिज्ञ र प्रशासक बिचको सिमाना कोर्ने गरिएको पाईन्छ ।
३. अध्ययनका बिशिष्ट विधासम्बन्धी दृष्टिकोण
राजनीति र प्रशासनलाई अध्ययनको बिशिष्ट बिधाको दृष्टिकोणबाट पनि यिनीहरु बिचको अन्तरसम्बन्ध र सिमा औल्याउने प्रयास भएको पाईन्छ । Woodro Wilson ले प्रशासनलाई राजनीति भन्दा पृथक बिषयका रुपमा बिकास गर्ने ध्येयले सन् १८८७ मा The study of administration नामक निबन्ध लेखेका थिए । LD White, M. Weber, Goodnow जस्ता बिद्धानहरुको प्रयास पनि Woodro Wilson कै पदचिन्ह्मा भएको पाईन्छ । पृथक बिधाका रुपमा राजनीति र प्रशासन बिच देहायअनुसारको सम्बन्ध र सिमा पहिचान गर्न सकिन्छ ।
क) राजनीतिक शास्त्रले सार्बजनिक प्रशासनलाई अधिकार सम्बन्ध (power relation), राजनीतिक मनोबिज्ञान, नीति मुल्याकन, तुलनात्मक अध्ययन, सिमुलेसन जस्ता सैद्धान्तिक बिश्लेषणात्मक बिषय र बिधिहरु मार्पmत छुट्टै बिधाका रुपमा बिकसित हुन योगदान पु¥याएको छ ।
ख) दुबै बिधाले राजनीतिक ब्यवहार, प्रक्रिया र संस्थाहरुसित कार्य गर्दछन् ।
ग) मानबशास्त्र, समाजशास्त्र, मनोबिज्ञान, इतिहांस, भूगोल, अर्थशास्त्र, कानुन जस्ता बिषयसित दुबै सम्बन्धीत छन् । प्रशासनले कर्मचारी प्रशासन, संगठनात्मक ब्यबहार, लेखा, लेखापरिक्षण, बजेटिङ जस्ता थप बिषयहरु मार्पmत आफुलाई एक कदम अगाडि सारेको मान्न सकिन्छ ।
४. प्रजातन्त्र र कर्मचारीतन्त्र बिचको सम्बन्ध सम्बन्धी दृष्टिकोण
प्रजातन्त्र र कर्मचारीतन्त्र बिचको सम्बन्ध सम्बन्धी दृष्टिकोणबाट पनि प्रशासन र राजनीति बिचको अन्तरसम्बन्ध र सिमा बिभाजन गर्ने गरेको पाईन्छ । बुंदागत रुपमा यी दुई बिचको अन्तरसम्बन्ध र सिमालाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।
क) प्रशासनको नेतृत्व प्रजातान्त्रिक तरिकाबाट निर्वाचित राजनीतिज्ञबाट गरिन्छ र आफ्नो लक्ष्य उद्धेश्य पुरा गर्न प्रशासनलाई आवश्यक स्वायत्तता प्रदान गरिन्छ । M. Weber को exercise of authority यस प्रसंगमा सान्दर्भिक देखिन्छ ।
ख) प्रशासनले राजनीति मार्पmत आफ्नो जवाफदेहिता बहन गर्दछ ।
ग) जनचाहना पुरा गराउने राजनीतिको प्रमुख र स्थायी संयन्त्र नै प्रशासन हो । त्यसैले प्रशासनको बैद्यता, स्थिरता र क्षमता बृद्धि गर्ने काममा राजनीतिले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।
घ) जनचाहना र नीति पक्षमा प्रशासनले राजनीतिक अर्थशास्त्रमा budgeting, financing र rational decision making process मा सिमा ल्याई check and balance कायम गराउंदछ ।
ङ) प्रशासन संचालनका सन्दर्भमा प्रशासकहरु राजनीतिक रुपले तटस्थ भई जनताका हक अधिकारको ग्यारेन्टी गर्न एवं प्रजातान्त्रिक मुल्य, मान्यता र पद्धतीको संस्थागत बिकास गर्न दत्तचित्त हुनु पर्दछ ।
च) राजनीति inductive logic of action र प्रशासन deductive logic of action बाट प्रभाबित हुन्छ । राजनीतिज्ञहरु आफ्ना मतदाता प्रति उत्तरदायी रहने तर प्रशासन भने सबैका लागि संचालन हुने गर्दछ । त्यस्तै राजनीतिज्ञहरुले हरेक बिषयमा issue based भएर फरक फरक बिश्लेषण गर्दछन भने प्रशासनले हरेक बिषयलाई समष्टिगत लक्ष्य उद्धेश्यसंग जोडेर समष्टिगत रुपमा नै बिश्लेषण गर्ने गर्दछन् ।
छ) राजनीतिले boundary, conflict तथा win-loss को अवस्थालाई स्वीकार्दछ तर प्रशासनले cooperation, integration र win-win situation लाई स्वीकार गर्दछ ।
५. प्रशासनिक तहको दृष्टिकोण
राजनीति र प्रशासनको अन्तरसम्बन्ध निक्र्योल गर्ने सन्दर्भमा समष्टिगत सार्बजनिक प्रशासनलाई मन्त्रीपरिषदको तह र बृति श्रृखलामा आवद्ध नियुक्त कर्मचारीहरुको तहमा बिभाजन गरी तिनीहरु बिचको अन्तरसम्बन्ध र सिमा औल्याउने गरेको पनि पाईन्छ । कतिपय साहित्यहरुमा राजनीति र प्रशासनको सम्बन्ध र सिमा निक्र्योल गर्ने मुख्य आधार यही तहगत बिभाजन रहेको छ । मन्त्रीपरिषद् माथि समग्र शासन ब्यवस्थाको अभिभारा रहने र शासन संचालनका लागि मन्त्रीहरुले प्रशासकहरुलाई अधिकार प्रत्यायोजन गरेका हुन्छन । समग्र प्रशासन राजनीति प्रति उत्तरदायी रहोस भन्ने अपेक्षा राजनीतिज्ञहरुको रहन्छ । यस प्रकार राजनीति र प्रशासन बिच यस्तो प्रत्यायोजित सम्बन्ध (delegated relation) रहंदा कतिपय अवस्थामा प्रशासनिक मुल्य र मान्यताका कारण उनीहरु बिच द्वन्द सृजना हुने, दुबैको जिम्मेवारी र जवाफदेहितामा अस्पष्टता रहने एवं प्रशासनमा राजनीतिक हस्तक्षेप समेत हुने गर्दछ । यस्तो द्वुबिधा, अस्पष्टता र हस्तक्षेपको अन्त्य गर्न कानुनद्वारा नै राजनीति र प्रशासनको कार्य, भूमिका र जिम्मेवारी किटान गरिन्छ ।
६. सार्बभौम जनताको दृष्टिकोण
यस दृष्टिकोणबाट राजनीति र प्रशासन दुबैको लक्ष्य उद्धेश्य सार्बभौम जनताको सेवा, सुबिधा, उन्नती र प्रगतीका लागि कार्य गर्ने हो । सार्बभौम जनताको सम्मान गर्ने जनमुखी शासन ब्यवस्था समयको माग पनि हो । जनता नै देशका मालिक हुन र उनीहरुले तिरेको करको पुरा सदुपयोग गर्न शासन संचालनमा जनताको सहभागिता हुनु पर्दछ । नीति निर्माण, कार्यान्वयन र मुल्यांकन प्रक्रियामा जनता एवं सम्बन्धीत सरोकारवालाहरुसंग अन्तर्किया अनिवार्य मानिन्छ । जनताद्वारा समग्र राजनीति र प्रशासनको मल्यांकन गरिने परिपाटी बस्नु पर्दछ । प्रभावकारी र दक्षतापूर्ण सार्बजनिक सेवाप्रवाहका लागि राजनीति र प्रशासन दुबै प्रतिबद्ध रहनु पर्दछ ।
प्रजातान्त्रिक परिपाटीमा सरकारको परिवर्तन स्वभाबिक कुरा हो । जनचाहना अनुसार प्रशासनले सेवा प्रवाह गर्न नसक्दा सम्बन्धित पार्टीको सरकार माथि नै प्रश्न चिन्ह खडा हुन्छ । राजनीतिक पार्टीहरुले आफ्ना नीति तथा कार्यक्रमहरु जनताबाट अनुमोदन गराउने प्रक्रिया चलिरहन्छ । जनताको अभिमत प्राप्त सरकारले प्रशासन मार्फत आफ्ना नीति तथा कार्यक्रमहरु कार्यान्वयन गराउदछ । प्रभावकारी सेवा प्रवाहको यो सहयात्रामा राजनीतिकर्मी र प्रशासक दुबै जनताका प्रति उत्तरदायी रहनु पर्दछ ।
नेपालमा राजनीति र प्रशासनको अन्तरसम्बन्ध
नेपालमा राजनीति र प्रशासनको अन्तरसम्बन्धको अनुभव त्यति फलदायी रहेको पाइदैन । कानुनी हिसावले यी दुई क्षेत्र बिचको सम्बन्धलाई सुमधुर र समन्वयकारी बनाउन केही ब्यवस्था गरिएको भए पनि ब्यवहारमा भने दुबैले आफ्नो गन्तब्य र भूमिका पहिल्याउन सकेको पाईदैन । सार्बजनिक सम्पत्तिको समुचित प्रयोग र सुरक्षाको जिम्मेवारी कानुनले नै प्रशासनलाई सुम्पिएको देखिन्छ तर पनि मन्त्रीहरुले राजनीतिक स्वार्थ पूर्तिका लागि आफ्नो अनुकुलका निर्णय गर्न प्रसस्तै दवाब दिने गरेको यत्रतत्र सुनिन्छ । सरुवा, पदस्थापना जस्ता शुद्ध प्रशासनिक कार्यहरुमा समेत मन्त्रीहरुको प्रत्यक्ष हस्तक्षेप देखिन्छ । म जोगी हुन राजनीतिमा लागेको होइन भन्ने राजनीतिज्ञहरु न त कानुनको कठघरामा अपराधी ठहरिन सकेका छन् न त सामाजिक रुपले बहिस्कृत हुन नै सकेका छन् । समस्या राजनीतिक क्षेत्रको मात्र होईन प्रशासनिक क्षेत्रको पनि त्यस्तै छ । सिद्धान्तत् प्रशासनिक तटस्थतालाई आत्मसाथ गरेको नेपाली प्रशासन पनि ब्यवहारमा राजनीतिक दल र ब्यक्तिगत स्वार्थ प्रति प्रतिबद्ध देखिन्छ । साधन स्रोत सम्पन्न मन्त्रालयमा सरुवा भई कार्य जिम्मेवारी लिन प्राय सबै कर्मचारीहरु लालयित देखिन्छन । लोक सेवा आयोग र सामान्य प्रशासन मन्त्रालयमा जिम्मेवारी पाउने कर्मचारीहरुको गुनासो सुन्दा लाग्छ उनीहरु त्यहां सजांय भोग्न पुगेका छन् । पद र हैसियत प्राप्त गर्न र जोगाउन प्रशासकहरु राजनीतिक पार्टीका कार्यकर्ता जस्तै पनि देखिन्छन । फलानो मन्त्रालयमा फलानो पार्टीको मन्त्री भएकाले त्यहां काम गराउन त्यही पार्टीको कार्यकर्ता लिएर जानु पर्ने नेपाली बिवशता कमजोर प्रशासन कै कारणले त हो । जनताको सर्बाङ्गिण बिकासलाई केन्द्रबिन्दु मानेर दुईक्षेत्र बिच कार्यमूलक सम्बन्ध बिकसित हुन पर्नेमा यी दुई क्षेत्र बिच स्वार्थ प्रेरित भूमिगत गठबन्धन कायम रहेको देखिन्छ । बुंदागत रुपमा यी दुई क्षेत्र बिच रहेका बिसंगतीहरुलाई निम्नाअनुसार उल्लेख गर्न सकिन्छ ।
1. राजनीतिज्ञ र प्रशासकहरुले कार्य क्षेत्रमा आफ्नो अनुशासन (discipline) कायम राख्न सकेको देखिदैनन् । राजनीतिज्ञहरुमा प्रजातान्त्रिक मुल्य मान्यताको अभाव देखिन्छ भने प्रशासकहरुले कानुनले प्रदान गरेको भूमिका तथा कार्य सम्पन्न गर्न सकेका छैनन् ।
2. प्रशासनमा अधिक राजनीतिकरण (overly politicized) भएको छ । शंका कै भरमा प्रशासकहरुको सरुवा गर्ने, बढुवामा रोकावट पु¥याने र जिम्मेवारी बिना नै पदस्थापना गरेका अनेकौं उदारहण छन् ।
3. राजनीतिज्ञ र प्रशासकहरुका बिचमा बिश्वासको संकट (crisis of trust) देखिन्छ । राजनीतिज्ञहरुले प्रशासकलाई आफ्ना सहयोगीको रुपमा नभई आफ्ना प्रतिस्पर्धीका रुपमा लिने गरेको अनुभव गर्न सकिन्छ ।
4. प्रशासकहरुले आफुलाई प्राप्त स्वविवेकीय अधिकार (discretionary authority) को दुरुपयोग गरेको देखिन्छ । तिनीहरुले या त ब्यक्तिगत फाईदा वा राजनीतिज्ञहरुको मनोकांक्षा पूरा गराउन आफुलाई प्राप्त स्वविवेकीय अधिकार प्रयोग गरेका पनि छन् ।
5. राजनीतज्ञहरुमा नीति निर्माण सम्बन्धी ज्ञानको अभाव (lack of knowledge) देखिन्छ । नीति निर्माणको कार्यमा राजनीतिज्ञहरु एकदमै प्रशासकहरुमा आश्रित (overly depended) रहेका छन् । तिनीहरुको भूमिका केवल सुपरिबेक्षक जस्तो मात्रै देखिन्छ ।
6. राजनीति र प्रशासन बिच समन्वयको अभाव (lack of coordination) छ । सार्बजनिक सेवा प्रबाहको स्थिति (public service delivery) एकदमै नाजुक रहेको छ । कतै कतै मनग्य परियोजनाहरुको तांती छ भने कतैकतै बिकास बजेटको कुनै अंश कहिल्यै पनि पुगेको देखिदैन ।
7. कतिपय अवस्थामा प्रशासकहरु नीति अभाव (policy gap) पहिचान गर्न पनि असमर्थ रहेको पनि देखिन्छ । उनीहरुको कमाउ प्रबृतिका कारण नीति निर्माणका लागि तिनीहरुले उपलब्ध गराउने सुचनाको (information) बिश्वस्नीयतामा पनि प्रसस्त शंका गर्न सकिने अवस्था कायम छ ।
8. राजनीतिज्ञहरुले राजनीतिक सल्लाहकार (political advisor) नियुक्त गर्ने अनि नीति निर्माण लगायत सम्पूर्ण प्रशासनिक क्रियाकलापहरुमा तिनीहरुको प्रभाव बिस्तार गराउने गरेकाले मन्त्रालयको काममा प्रशासकहरु ओझेलमा पर्ने गरेको पनि पाईन्छ ।
9. राजनीतक क्षेत्रले प्रशासनको बैद्यता कायम गराउने, क्षमता बिकास गर्ने र स्थिरता कायम गराउने तर्पm प्रतिबद्ध (political commitment) रहेको पाईदैन । बरु प्रशासन सुधारका नाममा मन्त्रालयको संख्या थपघट गर्ने, पटक पटक ऐन नियम संशोधन गरी नीतिगत अस्थिरता निम्त्याउने गरेका छन् ।
10. प्रशासकहरु पनि ब्यवसायिक र प्रतिस्पर्धी (professional and competent बन्न सकेका छैनन् । प्रशासनमा नवरक्त संचारका लागि लागू गरिएको छड्के प्रबेश (lateral entry) प्रति कैयौ प्रशासकहरुले असन्तुष्टि ब्यक्त गरेको प्रसस्तै सुनिन्छ ।
11. स्पष्ट कार्य बिभाजनको अभाव र सो अनुसारको भूमिकामा द्वन्द यद्यपी कायम रहेकाले राजनीति र प्रशासन बिचको सम्बन्ध कार्यमूलक हुन सकिरहेको देखिदैन । फलस्वरुप यी दुई बिच समग्रमा crisis of adjustment रहेको छ ।
निष्कर्ष
सार्बजनिक प्रशासन राजनीतिक उद्धेश्य परिपूर्तिका लागि सृजना गरिएको प्राधिकारको त्यस्तो प्रणाली हो जस्ले कार्यमुलक सरकारको उपस्थिति दर्शाउदछ । अर्थात सार्बजनिक प्रशासन राजनितिक गतिशिलताका कारण सृजना हुन्छ र यस्ले आफ्नो स्वरुप र बिषयवस्तु राजनीतिबाटै प्राप्त गरेको हुन्छ । सार्वजनिक प्रशासनको महत्वपूर्ण पक्ष भनेकै राजनीतिक प्रणालीमा यस्को महत्वपूर्ण स्थान रहनु नै हो । अथवा कार्यमुलक सरकारको प्रमुख र स्थायी संयन्त्र भनेकै सार्बजनिक प्रशासन हो । त्यसैले बौद्धिक बिलासिता र मपांईत्वका लागि मात्रै राजनीति र प्रशासनका बिचमा सिमा रेखा कोरिनु यूक्तिसंगत देखिदैन । यी दुईको सम्बन्ध नङ्ग र मासुको सम्बन्ध जस्तै हो । प्रशासनको अभावमा राजनीतिले सुशासन कायम गराउन सक्दैन भने राजनीति बिनाको प्रशासनको कुनै गन्तब्य हुदैन । नीति प्रक्रियामा पनि राजनीतिज्ञहरुको भूमिका प्रभाबी हुंदा कार्यान्वयनको समस्या पर्न सक्दछ भने प्रशासकको भूमिका प्रभाबी हुंदा बैद्यताको समस्या देखिन सक्दछ । त्यसै गरी प्रशासन कमजोर हुंदा civic rediscovery हुन सक्दैन भने राजनीतिक पक्ष कमजोर हुंदा civic engagement पनि हुन सक्दैन ।
सार्बभौम जनताको भलाई राजनीति र प्रशासन दुबैको अभिष्ट हो । त्यसैले नीति निर्माणको काम होस वा कार्यान्वयनको अथवा सुशासन अभिबृद्धिका लागि होस वा प्रभावकारी सेवा प्रवाहका लागि होस राजनीति र प्रशासन दुबैले जनतालाई केन्द्रबिन्दुमा राखेर आफ्ना क्रियाकलापहरु संचालन गर्नु पर्दछ । सहमतीको राजनीतिले सहमतीको प्रशासन पनि अपेक्षा गर्दछ । त्यसैले नेपाली प्रशासनको स्वरुप र संचालन प्रक्रियामा सबै पक्षको आमसहमती कायम हुनु पर्दछ । राजनीति, प्रशासन, निजी क्षेत्र, नागरिक समाज, गैरसरकारी संस्था, ट्रेड यूनियन लगायतका अन्य सरोकारवालाहरुको समन्वयात्मक साझेदारीमा सार्बजनिक क्षेत्रको ब्यवस्थापन हुनु जरुरी देखिन्छ । अझ समाबेशी प्रजातन्त्रको वर्तमान समयमा मधेशी, आदिबासी÷जनजाती, गरीब, दलीत, महिला र पिछडिएका एवं बाहिर पारिएको (म–जगदम्बा) वर्ग, क्षेत्र र समुदायका मानिसहरुलाई मुलप्रवाहीकरण गर्न नीति निर्माणको तह एवं कार्यान्वयनका हरेक पक्षमा उनीहरुको संलग्नताको ग्यारेण्टी पनि गरिनु पर्दछ ।
समस्या र चुनौती नभएको क्षेत्र शायदै होला । राजनीति र प्रशासन बिचको सुमधुर र सन्तुलित सम्बन्धका लागि पनि समस्याहरु हुन सक्दछन् । तर त्यसको निदान स्वयं राजनीति र प्रशासनको संयुक्त प्रयासबाटै हुनुपर्दछ । प्रशासन सुधारका नाममा गरिने राजनीतिक हस्तक्षेप राकिनु पर्दछ । राजनीतिक र प्रशासनिक संस्कार परिस्कृत नभई सकेको हाम्रो जस्तो समाजमा समाज जस्तो छ त्यस्तै शासन र प्रशासन हुन्छ भन्ने मान्यता त्याग्न सक्नु पर्दछ । जसरी अप्रजातान्त्रिक शक्तिलाई प्रजातान्त्रिक रुपान्तरण गर्ने जिम्मेवारी स्वयं प्रजातन्त्रबादीको हो त्यसरी नै समग्र शासन प्रक्रिया रुपान्तरणको जिम्मेवारी पनि स्वयं राजनीतिकर्मी र प्रशासकहरु कै हो । त्यसैले राजनीति र प्रशासनको सुमधुर सम्बन्धका लागि बिद्यमान कानुनी प्राधानहरुको समुचित कार्यान्वयन हुनु नितान्त आवश्यक छ । राजनीतिज्ञहरुमा सार्बजनिक नीति निर्णय गर्न सक्ने प्रयाप्त ज्ञान, कर्मचारीतन्त्रको संचालन र ब्यवस्थापनको शीप अपरिहार्य छ । प्रशासनको बैद्यता, स्थिरता र क्षमता बृद्धिका लागि राजनीतिक क्षेत्र प्रतिबद्ध हुनु पर्दछ । त्यसै गरी प्रशासकहरुमा ब्यवसायिकता र तटस्थताको अभिबृद्धि हुनु जरुरी देखिन्छ । राजनीति र प्रशासन बिचको सहकार्यलाई शिरोधार्य गर्दै मुलुकको राजनीतिक, आर्थिक, सामाजिक–सांस्कृतिक उद्धेश्य प्राप्त गर्न प्रशासकहरु त्यतिकै जिम्मेवार र उत्तरदायी हुनु बाञ्छनीय देखिन्छ ।
सन्दर्भ सामाग्री
1. शरदकुमार अधिकारी, नेपाली कांग्रेसको अन्तद्र्वन्द र पुनर्जीवनको प्रस्ताव, घटना र बिचार साप्ताहिक, १७ असोज २०५८
2. डा. भीमदेव भट्ट, सार्बजनिक प्रशासनको आधारभुत सिद्धान्त, श्री आशिषदेव भट्ट, काठमाण्डौ, २०६०
3. डा. भीमदेव भट्ट, राजनीति र प्रशासनको अन्तरसम्बन्ध, सोपान मासिक, बर्ष १ अंक १२, गोपालप्रसाद चापागाई र वासुदेब ढकाल, २०६२
4. Aberbach, D. Joel, Putnam, D. Robert and Rockman, A. Bert, Bureaucrats and Politicians in Western Democracies, CML: Harvard University Press, 1981
5. Peters, B. Guy. The Relationship Between Civil Servants and Political Executives, Center for the Study of Public Policy, University of Strathclyde, Glasgow, 1986
6. Peters, B. Guy. The Policy Capacity of Government, Canadian Center for Management Development, 1996
7. Hiramani Ghimire, Public Policy Making in Nepal, NEFAS-FES, Kathmandu, Nepal 2002.
8. UNO. Rethinking Public Administration: An Overview, ST/TCD/SER.E/27, Division for Public Economics and Public Administration, Department of Economic and Social Affairs.
9. Eran Vigoda, Rethinking the Identity of Public Administration: Interdisciplinary Reflections and Thoughts on Managerial Reconstruction, Public Administration & Management: An Interactive Journal, Vol. VIII-No. 1, 2003

Friday, September 8, 2017

शिक्षा दिवस (Knowledge Sharing Day)

महेन्द्रप्रसाद अधिकारी

        शिक्षा पुस्तकालयको पर्यायवाचि शव्द वा पुस्तकालयवाट प्राप्त हुने ज्वालारुपी ज्ञानको ज्योति हो। शिक्षाको मुटु भनेको पुस्तकालय हो । हामी कस्तो संस्कारमा छौ?, कस्तो देशमा छौ?, हाम्रा नेता कस्ता छन् ? , हामी कस्तो परिवारमा छौ ?, हामीलाइ पढाउने गुरु कस्तो हुनुहुन्छ ? हाम्रो शिक्षा यसैमा निर्भर रहन्छ।
शिक्षाको अभावमा केहि पनि गर्न सकिदैन र गरियो भने पनि सफल नहुन सक्छ। अहिलेको विकास, वैज्ञानिक चमत्कारिकता, चन्द्रमामा राकेट लागेका  वा पुगेका सवै जो जसले जहाँ जहाँ रहेर जुनसुकै देशमा रहेर गरेपनि यो सवै शिक्षाको देन हो शिक्षावाट भएको उपलव्धी हो।
            पुस्तक राख्ने घर पुस्तकालय हो र यहाँ पनि वैज्ञानीक पद्यतिवाट मिलाएर राखिएको पाठ्य सामाग्रीहरु सम्वन्धित पठकलाइ प्रदान गरिने सेवा सुविधाको लागि पनि शिक्षाको आवश्यकता पर्छ । विद्यालय र पुस्तकालय एक अर्काका परिपुरक हुन्। हाम्रो शिक्षा र हाम्रो पुस्तकालयको भविष्य  हामीले कसरी प्रयोग गर्छै त्यसैमा भर पर्छ।
      हाम्रो जस्तो देशमा औठा छापवाला मन्त्रीले कतिवेला राजनीतिक दल र झुण्डमुण्डको आधारमा कुन र कस्तो राजनीतिक पद देला र कुर्सिमा वसौला भनेर आर्शिवाद थापेर बस्ने हामी प्राज्ञ भनौदाहरु अझै पनि महाविध्यालयमा,विश्वविद्यालयमा कार्यरत उच्चशिक्षामा संलग्न  शिक्षकहरु, वैज्ञानिकहरु, प्राध्यापकवर्गको गरिमा, प्रतिष्ठा थिचो मिचो भएको देशमा शिक्षाको गुणगान गाउन, शिक्षा दिवस नमनाए हुन्छ मनाउनु भनेको मानसम्मान हराएको इज्जत प्रतिष्ठा गुमेको र शैक्षिक तथा विद्यत वर्ग अपमानीत भएको यस घडिमा लाग्छ यो गाइजात्रा मनाए सरह हो ।
      यदी मनाउनेनै हो भने देश वनाउने कि विगार्ने हो एक पटक गम्भिर भएर सोचौ कार्यलय सहयोगी , हेल्पर, जस्ता पदमा विज्ञापन हुदाँ अहिले कम्तिमा एस एल सि वा सो सरह भनेर शैक्षक योग्यता तोकिएको छ भने अनि औँठाछापवाला हाम्रा जनप्रतिनिधि भनाउँदाहरुले वनाएको नीति नियम, यस्ता लठैत,  व्यक्तिहरुले गरेको ईशारा, आदेश वा निर्देशन प्राध्यापक जस्तो विद्दान सचेत वर्गले सोच्नुपर्ने वर्तमान अवस्थामा शिक्षित वर्गले आफ्नो हैसियत,  प्राध्यापक वर्गकै इज्जत र गरिमाको लागि ख्याल गरेर औठाछाप र रबर स्ट्याम्पवाट काम गर्ने, ऐन नियम विनियम वनाउनेहरु  शैक्षिक योग्यता नभएका र नियुक्तिको आधार नभएका, शैक्षिक योग्यता नतोकएिका सांसद, मन्त्री, प्रधानमन्त्री, राजदुतहरुको नियुक्ति प्रकृया बिरुद्द, यसको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता स्नातक, स्नातकोत्तर तह के कति वरावरको तोकिनु पर्ने कि नपर्ने भन्ने प्रति आवज बुलन्द पार्नको लागि अहिलेको यो शिक्षा दिवस औठा छाप बिरुद्द प्रयोग हुनको लागि यो शिक्षा दिवस यसरी नै मनाउन आवश्यक छ ।

शिक्षाको महत्व (Importance of Knowledge)


        लेख्न पढ्न ठिक वेठिक छुट्याउन, कुनै कार्य गर्न, र शुख शान्ति सँग वाँच्न, आफ्नो र परिवारको भविष्य,देश र जनताको भविष्य थाहा पाउन र भविष्य वनाउन अवाश्यक पर्ने वुद्दिको घैटो नै शिक्षा हो हरेक क्षेत्रमा कुसल तवरले कार्य गर्न शिक्षाको उत्तिकै महत्व रहन्छ । देशको उन्नति र विकासलाई सहि मार्गदर्शन गर्न सक्षम वैज्ञानिकहरु र सवल वौद्दिक प्राध्यापक वर्गको महत्व उच्च रहेको छ । उच्चशिक्षाबाट उत्पादित जनशक्त्ती उद्योग,  कलकारखाना, राजनीति, जागिर, व्यापार व्यावसाय, धर्मकर्म जुनसुकै पेशाको क्षेत्रलाइ सवल र सक्षम गराउन शिक्षाको आवस्यकता पर्दछ।

१) देश र जनतालाइ सर्वाेपरि ठानेर कार्य गर्ने हो भने यो देशमा सवै भन्दा पहिले राजनीतिक दलहरुलाइ तपशिलको शिक्षा हासील गराउन आवश्यकता छः

क) सरकारी कर्मचारीहरुको युनियनमा राजनीतिक हस्तक्षेप वन्द हुनु पर्याे , दलगत युनियनको खारेजि हुनु पर्याे
ख) शैक्षिक क्षेत्रमा राजनीतिक नियुक्ति र राजनीतिक हस्तक्षेप वन्द हुनु पर्याे
ग) दलहरुमा गुटगत राजनीतिको अन्त्य हुनुपर्याे
घ) भ्रष्ट, वलात्कारी, हत्यारा, अपराधि, र अपहरणकारीहरुलाइ कडा कार्यवाहीको व्यवस्था हुनु पर्याे र सामाजिक, राजनीतिक रुपमा निषेधको निति लिनु पर्याे ।
ड.) देशलाइ हानि नोक्सानी पुर्याउने दल वा व्यक्तीलाइ सार्वजनिक रुपमा उदाङ्गो पार्ने र निषेध गर्न सक्ने आँट हुनु पर्याे ।
च) सार्वजनिक पद धारण गर्ने राजनीतिक व्यक्ति, कर्मचारी सवैले सम्पत्ती विवरण पारदर्शीरुपमा सार्वजनिक गर्नुपर्याे ।
छ ) सरकार धनि , गुण्डाको नाइके डनहरुको र पहुचवालाहरुको मात्रै हैन भन्ने अनुभुतिको लागि गरिव, असहाय,पिडित,अपागंहरुले पनि सरकारी सेवा सुविधा सरल सुलभ तरिकाबाट प्राप्त गर्न सकुन्।
ज) कमिशन, घुष, प्रलोभन, धनदौलतमा परि अनैतिक कार्य गर्न वन्द हुनुपर्याे ।
झ) राजनीतिक पदमा वा सार्वजनिक ओहदामा रहने व्यक्तिको शैक्षिक योग्यता तोकिनु आवश्यक छ।

२)  यो देशमा कर्मचारीहरुलाई तपशिलको शिक्षा हासील गराउन आवश्यकता छः

क) ऐन, नियम र कानुनको जानकारी हुनु
ख) ज्ञान र सूचनाको पहूँचलाइ वृद्दि गर्ने।
ग) संरक्षण र विकासमा सहयोग पर्याउनुपर्छ भन्ने भावनाको विकास हुनु
घ) सेवाग्राहीलाइ सर्वाेपरि ठानेर वढि महत्व दिने वानि वसाल्न
ड.) नागरीक समुदायलाइ चेतनाको विकास गरी सभ्य समाजका विकासमा सहयोग गर्ने
च) कसरी सेवाग्राही माझ लोकप्रीय हुन सकिन्छ भन्ने जस्ता कार्यक्रमहरु सञ्चालन गर्ने
छ) सकारात्मक अनुभवहरु आदान प्रदान गर्ने
ज) विद्यालयमा वालवालीकाहरुलाइ उनिहरुको अभिभावकले जस्तै व्यवहार गर्ने वानिको विकास गर्न र सफा सुन्दर स्वच्छ वातावरणको विकास गर्न
झ) देश र जनताको हित हुने गरि सामाजिक विकासको कार्यक्रहरु, रचनात्मक क्रियाकलापहरु गर्ने गराउने
ञ ) पुस्तकालयको विकास, हरेक गाउ गाउ हरेक विद्यालयमा इन्टरनेट सहितको पुस्तकालय र पुस्तकालय विज्ञान विषयको पठन पाठनमा जोड दिने ।
ट) नराम्रा कुराहरुको वारेमा, विकृतिको वारेमा , त्यसवाट हुने असर, फाइदा वेफाइदाहरुको वारेमा नलजाइ नलुकाइ  स्पष्ट रुपमा जनचेतना फैलाउने
ठ) शिक्षा प्राप्त गर्न सामाग्री खोज्दै आउने पाठकहरुलाई पुस्तकालयमा कार्यरत कर्मचारीहरु र पदाधिकारीले  के र कसरी सेवा गर्न सकिन्छ भन्ने भावनाको विकास हुन जरुरी
ड) कार्यालयमा काम गर्ने कर्मचारी र कार्यालय प्रमुख आफ्नो  कार्यालय समय भरी आफिसमा बसिदिनु पर्‍यो


शिक्षाको विकासमा देखिएका अवरोधहरु

क) नेताहरुको, कर्मचारीहरुको ,अभिभावकहरुको अनुत्तरदायी भमिकाको कारण
ख) नेताहरु भ्रष्ट हुनु
ग) कर्मचारीहरुलाई तलव तथा भत्ता र सेवा सुविधामा राज्यले विभेद गर्नु
घ) कर्मचारीहरु, शिक्षक, प्रद्यापकहरुको मर्यादाक्रमतह , कार्यविवरण स्पष्ट नपारीनु
डं) प्राध्यापकहरु देशको वुद्दिजिवि वर्ग राज्यवाट अपमानित भएको महशुस हुनु
च) दक्ष प्राविधिक जनशक्तिको प्रयोग नहुनु
छ) मेरो र हाम्रो मान्छे भन्ने परिपाटिले राम्रो मान्छ वा कर्मचारी पाखा पर्ने र भ्रष्टाचार मौलाउने कारण
ज) समाजमा प्रतिष्ठीत , र समाज सेवि तठस्थ रहन नसक्नु
झ) राजनीतिक दलको आड भरोसामा अपराधिक घटनाहरु घटिरहनु
ट) दण्ड जरिवानाको व्यवस्था कायन्वयनमा राजनीतिक प्रभाव पर्नु
ठ) हाम्रो देशको कानुन  वनाउनेहरुको शैक्षिक योग्यताको कमी
ड) देशको राज्यसत्तामा व्यवहारीक रुपमा शिक्षाले पहिलो प्राथमिकता नपाउनु
ढ) जनताले योग्य जनप्रतिनिधि छान्न र चुन्न नसक्नु
ण) देश विकासको लागि नीति निर्माणमा दक्ष र योग्य व्यक्तिको चयन वा नियुक्ति नहुनु


Sunday, September 3, 2017

भाद्र १५, पुस्तकालय दिवस “ दशौं राष्ट्रिय पुस्तकालय दिवस" जीवन पर्यन्त शिक्षाका लागि एक स्थानीयतह एक नमूना पुस्तकालय ''

महेन्द्रप्रसाद अधिकारी
अर्थ:

पुस्तकालय शब्द पुस्तक र आलय (घर) दुई पद मिलेर बनेको शब्द हो जसको सामान्य अर्थ पुस्तकहरु संग्रह गरी राखिएको घर भन्ने हुन्छ । जुनसुकै विधि वा प्रकृयाबाट पुस्तकालयमा प्राप्त भएका खरिद तथा उपहार स्वरुपका पाठ्य पुस्तक, पत्रपत्रिका, जर्नल, अनुसन्धानमूलक लेख रचनाहरु, थेसीस, पर्चा श्रव्य तथा दृष्य (अडियो–भिडियो) जस्ता आदि पाठ्य सामाग्रीहरुलाई पाठकले चाहेको वेलामा तुरुन्त दिन सकिने गरि व्यवस्थित तरिकावाट मिलाएर राखिने कोठा, घर वा अफिसलाई पुस्तकालय भनिन्छ । पुस्तकालयबाट हुने गरेका सेवा तथा गतिविधिहरु र पुस्तकबाट पाइने ज्ञानका सामाग्रीहरुलाइ हिजो आजको पुस्तक भन्नाले ईन्टरनेट र ईन्टरनेट सहितको कम्प्यूटरहरु राखिएको कार्यलयलाइ ई-पुस्तकालय वा ईलाइव्रेरी भन्न सकिने गरि पुस्तकालयको परिभाषाको विकास भैसकेको वर्तमान अवस्थामा पुस्तकालयले सूचनाको पहुँच, शैक्षिक सामग्रीहरुको उपलब्धता, विज्ञान र प्रविधिको सर्वव्यापकतालाई सबैको पहुँचसम्म पुर्याउन उल्लेख्य भूमिका निर्वाह गर्छ र गरिरहेको छ । साँच्चै भन्ने हो भने पुस्तकालय शिक्षा आर्जन गर्ने अनौपचारिक स्रोतकेन्द्र हो अनि विज्ञान र प्रविधिको पवित्र थलो भनेर चिनिन्छ ।

यस अवसरमा “जीवन पर्यन्त शिक्षाका लागि एक स्थानीय तह एक नमूना पुस्तकालय“ को नारासहित भाद्र १५ मा देशभर दशौ पुस्तकालय दिवस मनाइँदैछ । राष्ट्रिय पुस्तकालय दिवस मनाउदै गर्दा हाम्र पुस्तकालयहरुमा हाम्रै कर्मचारी, कार्यलय प्रमुख, निकाय प्रमुख, आदिवाट पुस्तकालय प्रशासन र पुस्तकालय सेवा सञ्चालनमा हुने गरेका केही कमि कमजोरीहरु भए सच्याउनको लागि  पुनःस्मरण गर्दै पाठक सेवा, पुस्तकालय सामाग्री, दक्ष जनशक्ति जस्ता पुस्तकालय विकासको विषय सँग सम्वन्धित रहेर एक अर्कामा भएको ज्ञान, सिप र प्रविधिको वारेमा प्रकाश पार्दै पहुच नभएकाहरुलाई पनि हौसला हुने गरी ज्ञानको उज्यालो ज्योति छर्ने शुभ दिन पनि हो।

यसको उद्देश्य :

नेपालमा औपचारिक रूपमा वि.सं. १८६९ भाद्र १५ गते पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिको रूपमा स्मरण गर्दै पुस्तकालय तथा सूचना विज्ञानका क्षेत्रमा भएका गतिविधिहरू एवम् पुस्तकालयको आवश्यकता, पाठ्य सामाग्रीको संकलन, पुस्तकालय नियम, कानुन , पाठक तथा कर्मचारी सेवा र सुविधा बारे जानकारी गराउने, देशभरमा “एक स्थानीय तह एक नमूना पुस्तकालय” पुस्तकालयको स्थापना, संरक्षण र विकासमा सहयोग पुर्याउने, ज्ञान र सूचनाको पहुँच वृद्धि गर्ने, नागरिकहरूमा अध्ययन संस्कृतिको विकास गर्नुका साथै सूचना एवम् ज्ञानमा आधारित सभ्य समाज निर्माणमा सहयोग पुर्याउने जस्ता विविध उद्देश्यका साथ नेपालमा वि.सं.२०६५ देखि भाद्र १५ लाई ‘पुस्तकालय दिवस’ को रूपमा मनाउन सुरू गरिएको हो।

पुस्तकालय दिवसलाई युवा पिँढी बीच लोकप्रिय बनाउन र पठन संस्कृतिको विकास गर्न प्रणय दिवसमा प्रेमी–प्रेमिका बीच गुलावको फूल आदान प्रदान गरे जस्तै पुस्तकालय दिवसमा कम्तिमा एउटा मन परेको पुस्तक किन्ने, अध्ययन गर्ने र आपसमा सकारात्मक अनुभवहरू आदान प्रदान गर्नुका साथै उक्त पुस्तक प्रेमपूर्वक प्रेमी–प्रेमिका, साथी–साथी, शिक्षक–विद्यार्थी, लेखक–लेखक र लेखक–पाठक बीच साटासाट गर्ने र आफूले लेखेका, प्रकाशन गरेका वा किनेका नयाँ पुस्तक पुस्तकालयलाई उपहार दिने नवीन संस्कृतिको विकास गर्न, समय सापेक्ष आधुनिक पुस्तकालय (ई लाइव्रेरी) को विकास तथा यसको प्रयोग विधि सहित हरेक स्थानिय तहमा कम्तिमा एक पुस्तकालय रहनु सान्दर्भिक ठहर्छ ।

कुनै कुनै निजि तथा सरकारी क्याम्पस कार्यालयहरुमा सेवा सुविधाको ख्याल नगरी नाम मात्रको पुस्तकालयको रुपमा स्थापना गर्ने यसको नाममा रकम मात्र असुल गर्ने एउटा कोठामा साइनबोर्ड झुण्ड्याइदिने गर्ने गरेका कार्यलयहरु पनि देखिन्छन भने कतिपयमा पुस्तकालय भए पनि ठिकै हुन्छ नभए पनि हुन्छ जस्तो गरिदिने र यदि छ भने पनि खुले पनि ठिकै छ नखुले पनि किन खुलेन चासो नराख्ने कार्यालय प्रमुखहरु पनि भेटिन्छन् । अन्य कुनै शाखामा वा कहि कतै आर्थिक पक्षसँग गाँसिएका विभागहरु जस्तै कुनै कर्मचारी विदामा वस्दा वा परिक्षा सञ्चालन गर्दा वा फर्म भराउन पर्दा वा विद्यार्थीको भर्ना गर्दा कर्मचारीको खाँचो परेमा पुस्तकालय नै बन्द गरी कर्मचारी खटाउने वा पठाउने परम्परा साथै अन्य कुनै पनि शाखामा कामगर्न सक्षम नभएका वा काम गर्न नसक्ने अवस्थामा पुगेका वा राजनितिक पहुच भएका जसलाइ काम गराउन नसक्ने अवस्थामा रहेका वा आचरण ठिक नभएका कर्मचारीहरु पुस्तकलय शाखा वा विभागमा राख्ने पठाउने वा खटाउने परम्पराको विकास नरोकिए सम्म पुस्तकालयको विकास नहुने भएकाले सुधार्नु पर्ने क्याम्पस र कार्यलयहरु थुप्रै भेटिन्छन् । पुस्तकालय प्रशासन र पुस्तकालय सेवा सुविधा भनेको के हो ? यस सँग सम्वन्धित र सरोकार पक्ष को को हुन? पुस्तकालयलाई सञ्चालन गर्ने तरिका, हेर्ने र बुझ्ने दृष्टिकोण र पुस्तकालयको भविष्य कतिपय कार्यालय प्रमुखहरु र त्यसको आधिकारीक व्यक्ति वा पदाधिकारीमा पनि भर पर्ने विषय हुदोरहेछ।

नेपालमा पुस्तकालयको विकासको लागि जति पनि सेमिनार, सभा, सम्मेलन, तथा पुस्तकालय सँग सम्वन्धित कार्यक्रहरु हुनेगरेका देखिन्छन् ति कार्यक्रमहरुमा पुस्तकालय प्रमुख वा पुस्तकालय कर्मचारी मात्र सहभागी नभएर कार्यालय प्रमुख र पुस्तकालय प्रमुख तथा पुस्तकालयका कर्मचारीहरुलाइ सँगै सहभागी नगराउँदासम्म पुस्तकालयको समस्या र मर्का यथार्थमा बुझ्न र बुझाउन अथवा व्यवहारमा उतार्न कठिन रहेको वर्तमान अवस्थामा नेपाल सरकारको शिक्षामन्त्रालय सँग सम्वन्धित मन्त्री, सचिव, योजनाविध, विश्वविध्यालय सभाका पदाधिकारी, काननुविदहरुवाट ऐन र नियम वनाउने समयमानै कार्यालय प्रमुखलाई समेत समेट्नेगरी पुस्तकालय के हो ? यसको महत्व कति छ यसको फाइदा वेफाइदाहरु र यसको अभावमा वा यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्न नसक्दा उत्पन्न हुने असरहरु, यसबाट प्राप्त हुने राम्रा र नराम्रा प्रतिफलहरुको वारेमा स्पष्ट जानकारी हुन र गराउन जरुरी देखिन्छ । पुस्तकालयको सेवा सुविधा तथा विकासमा देखिएका र हुने गरेका कमि कमजोरीहरुलाई कहाँ के कस्ता समस्याहरु छन् के कसरी विकास गर्न सकिन्छ भनेर सुधार गर्दै जानकालागि सुझाव सहित सम्वन्धित व्यक्ति, र निकाय विच जिल्लास्तरमा रहेका पुस्तकालयका प्रतिनिधिहरु विच भेला तथा छलफल गराउनु नै यसको मूख्य उद्देश्य हो । जनतालाई शिक्षित र राष्ट्रलाई समृद्ध बनाउने उद्देश्यले नेपालमा पुस्तकालय दिवस मनाउन थालिएको हो। हरेक वर्ष भद्र १५ को दिनलाई पुस्तकालय दिवस भनेर यसलाई केवल नारामा सीमित नगरी पाठक, विद्यार्थी, शिक्षक, लेखक तथा प्रकाशक नीतिनिर्माता, राजनीतिक दलका नेता, बुद्यिजिवि लगायत आम नागरिकहरूले आदरपूर्वक सम्झने दिनका रूपमा स्थापित गराउनुपर्छ। पुस्तकालय दिवसको शुभ अवसरमा हामी पुस्तकालय कर्मीहरु, पुस्तकालयका संरक्षकहरु पुस्तकालय विकास समितिमा रहने पदाधिकारीहरु समयले प्रदान गरेको यस ऐतिहासिक जिम्मेवारी प्रति सबै मिलेर सुधार गर्ने प्रण गर्न जरुरी छ ।

यसै गरी पुस्तकालयको आफ्नो छुट्टै भवन र इन्टरनेट जडानको व्यवस्था रहेको भएता पनि हाम्रोे यस वीरेन्द्र वहुमुखी क्याम्पस पुस्तकालमा नेपाल कलेक्सन, रेफेरेन्स सेक्सन, लेनदेन सेवा तथा थेसिस सेवा सञ्चालन गर्न असहज अवस्थाको सिर्जना भैरहेका वर्तमान परिस्थितिमा करिव ४६००० खरिद पुस्तक, ३००० उपहार स्वरुपका पुस्तकहरु र ३००० थेसिसहरु जस्ता सामाग्रीहरुको लिव्रा लाइव्ररी डिजिटल सफ्टवेर मार्फत करिव ३५०० विद्यार्थी, ३००शिक्षक, र ५० कर्मचारीहरुलाइ सेवा गरिरहेका छौ । प्रातः तथा दिवा दुवै सत्रमा पठन पाठन सञ्चालन हुने यस पुस्तकालयमा हाल कार्यरत प्राविधिक कर्मचारीको अभावमा पुस्तकहरुलाइ राम्रो सग व्यवस्थीत गर्न सकिएको छैन। यसै वर्ष देखि ईन्टरनेटको सहायतामा थेसिसहरुलाइ पनि अनलाइन गर्न सकिने व्यवस्था मिलाइएको छ । दक्ष जनशक्तिको अभावमा पुस्तकालयको रेफ्रेन्स शाखा, ईलाइव्रेरी, नेपाल कलेक्सन, जस्ता सेवाहरु बन्दै भइसकेका छन्। दक्ष प्राविधिक कर्मचारीको अभावले पुस्तकालयको स्टक रुममा विषयगत बुक व्यवस्थापन, वाँकी बक्यौता रेकर्ड, स्टक भेरिफिकेसन कार्य, पुस्तक धुल्याउने कार्य लगायत अन्य सेवालाइ चुस्त र दुरुस्त पार्न नसकिएकाले क्याम्पसको समस्याको वारेमा पटक पटक क्याम्पस प्रमुखलाई, क्याम्पस प्रमुख मार्फत त्रि.वि. पदाधिकारीहरुलाई गनासो राख्दा कुनै प्रतिकृया नआएपछि , त्रि.वि. केन्द्रिय पुस्तकालय प्रमुख श्री इन्द्रप्रसाद अधिकारीजयूलाई अवगत गराउँदा पनि समस्या समधान हुने कुनै उपाय अथवा सुझाब बिनानै फर्कन वाध्य हुनुपरेपछि केहि त गर्नै पर्‍यो भन्ने भावनाले यस्तै अवस्था रहिरहेमा विभिन्न विषयगत विभागका विध्यार्थीहरुलाई भोलेन्टीयर सेवामा संलग्न गराएर भएपनि पाठकहरुलाई सेवा प्रदान गर्ने सोच वनाइएको छ। यसको विकासको लागि आवस्यक व्यवस्था मिलाउन सम्वन्धित पक्षको ध्यान जानु जरुरी छ।

आवश्यकता र उपयोगिताः

सामाजिक, राजनीतिक, शैक्षिक र प्रसासनिक जस्ता क्षेत्रहरुमा ज्ञान र सूचनामा आधारित शिक्षित, सभ्य, सुसंस्कृत एवम् समृद्ध समाज निर्माण गर्न सहरदेखि गाउँ गाउँ र हरेक स्थानिय तहका कार्यलयमा वा विद्यालयमा बालबालिकादेखि युवा, बृद्ध अनि शारीरिक रूपमा अशक्त, दृष्टिविहीन तथा श्रवणविहीन आदि सबै प्रकारका पाठकहरूका लागि मैत्रीपूर्ण एवम् विविध पाठ्य, श्रव्य, श्रव्य दृश्य र विद्युतीय सूचना सामग्रीहरूले सुसज्जित आधुनिक पुस्तकालय वर्तमानको आवश्यकता हो।

नेपालको सन्दर्भमा भन्नुपर्दा निजी, शैक्षिक, सामुदायिक गरी विभिन्न किसिमका पुस्तकालय स्थापना भई सञ्चालन तथा व्यवस्थापन हुँदै आएका छन् ।शिक्षाका लागि पुस्तकालय ऐन, नियममार्फत् एक स्थानिय तह एक सार्वजनिक पुस्तकालय ,एक गाउँ एक पुस्तकालय, एक विद्यालय एक पुस्तकालय अर्थात टोलटोलमा अनि हरेक विद्यालयमा सुविधायुक्त पुस्तकालयको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके मात्र पुस्तकालय दिवस सार्थक भएको मानिनेछ। पुस्तकालय ज्ञानको भण्डार पनि हो।

पुस्तकालयबाट हामी हरेक किसिमको ज्ञान पाउन सक्छौ। त्यसैले पनि यो दिवसको महत्व बढेको छ। पढाई मान्छेको जीबनमा एउटा यस्तो कुरा हो जसले जीबन परिबर्तन गर्न सहयोग गर्दछ। किताब बिनाको जीबन निरर्थक हुन्छ र जीवनको कुनै महत्व हुदैन। किताब बिनाको जीबनले ढुंगेयुगको स्मरण गराउँछ। आज समाजमा जति पनि विकास भएको छ, चाहे त्यो सामाजिक होस् चाहे साँस्कृतिक होस, चाहे प्राबिधिक होस, हरेक परिबर्तनमा पुस्तकको ठुलो हात छ। हाम्रो समाजमा अझै पनि धेरै व्यक्तिहरुले पुस्तकको अनुहार पनि देखेका छैनन्। यो दिवसको लक्ष्य पनि हरेक व्यक्तिको हातमा पुस्तक हुनु र त्यसको महत्व बुझाउनु हो।

त्यसमा पनि २०७२ साल बैशाख १२ गतेको विनासकारी भूकम्पका कारण नेपालका थुप्रै शिक्षालय एव केही महत्वपूर्ण पुस्तकालय भवनहरुमा क्षति पुग्नाले तमाम विद्यार्थी वर्ग, खोज अनुसन्धाता, सर्वसाधारण मात्र नभएर समस्त नेपालको शैक्षिक, सामाजिक एवं आर्थिक क्षेत्र नै धराशायी भएको छ । गत साल २०७२ वैशाख १२ को महाभूकम्पले हाम्रो यस वीरेन्द्र वहुमुखी क्याम्पस पुस्तकालय भवन चर्केको र पुस्तक र दराजहरु पनि यत्रतत्र ढलेका कारण भुकम्पबाट अछुतो रहन सकेन विशेष गरि त्रि.वि. केन्द्रिय पुस्तकालय, नेपाल राष्ट्रिय पुस्तकालय, मदन पुरस्कार केशर पुस्तकालय, डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालयलगायत काठमाडौँ उपत्यकाका अधिकांश सार्वजनिक पुस्तकालयका भवन भत्किएका÷चर्किएका कुराहरु विभिन्न लेख रचनाहरुवाट थाहा पाउन सकिन्छ । इतिहासकार दाजुभाइ महेशराज पन्त र दिनेशराज पन्तले संरक्षण गरेका निजी र संशोधन मण्डलका पुस्तकालय भने भूकम्प प्रतिरोधी घर भएकाले -याक, दराज, कुर्सी, टेवल ढले पनि खासै कुनै ठूलो क्षति भएको छैन । भूकम्पपछि अन्यत्र सेवा बन्द भएकाले कतिपय शुभेच्छुकहरु हेर्न एवं अध्ययन गर्न भनी संशोधन मण्डल पुस्तकालयमा समेत पुगे । यस पुस्तकालयमा अन्यन्त्र नभएका हस्तलिखित लक्ष्मीपति–नयराज संग्रहका साथै नेपालको इतिहास, ज्योतिष विद्या र जर्नल गरी करिब १० हजार पुस्तक छन् भन्ने जानकारी ईन्टरनेटमा राखिएका विभिन्न लेख रचनाहरुवाट हामी थाहा पाउन सक्छौ । नेपालकै सबैभन्दा बढी विद्या्र्थीको आकर्षणका रूपमा रहेको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्गतको केन्द्रीय पुस्तकालय पनि भूकम्पका कारण प्रभावित हुँदा विद्यार्थी एवं अनुसन्धानकर्ताहरुले केही समयसम्म कष्ट बेहोर्नुपर्‍यो । उक्त पुस्तकालयलाई महाभूकम्पअघिको अवस्थामा परिणत गर्न आइटी विभागमा काम गर्ने कर्मचारी  एक्सपर्ट एवं लाइबे्ररी प्रोफेसनलहरुको अद्यापि खाँचो छ आवस्यक जनशक्तिको अभावमा स्तरीय र दिनपर्ने जति सेवा प्रदान गर्न सकिरहेको छैन ।

वि. स. २०१६ सालमा त्रि.वि.सँगै स्थापित यो पुस्तकालय हाल ‘अनुसन्धान पुस्तकालय’ का रूपमा सञ्चालिन छ । करिव १२ सय पुस्तकबाट प्रारम्भ भएको यस पुस्तकालयमा हाल साढे तीन लाख किताव तथा करिव २५ हजार पत्रपत्रिका संकलित एवं सुरक्षित छन् । आइएसबिएन नम्बर उपलब्ध गराउने राष्ट्रिय एजेन्सीका रूपमा रहेको यस पुस्तकालयले अक्सफोर्ड विश्वविद्यालयको समन्वयमा अन्तर्रा्ष्ट्रिय अनलाइन, डाटाबेश र किताव निःशुल्क उपलब्ध गरेको छ । हाल मुलुकभरका करिव ५५ क्याम्पस तथा विभिन्न संघ-संस्थाले यो सेवा लिँदै आएका छन् ।हरिहरभवनस्थित नेपाल राष्ट्रिय पुस्तकालय भूकम्पकै कारण इन्जिनियरहरुले बस्न नमिल्ने गरी रातो स्टिकर टाँसिदिएकाले बन्द गरिएको छ । यस पुस्तकालयमा विभिन्न भाषाभाषीका कुल १ लाख पुस्तक, ३ हजारभन्दा बढी शोधपत्र, १ हजार जर्नल र त्यति नै संख्यामा पत्रपत्रिका संकलित छन् । केशरशमशेरको निजी संकलनबाट प्रारम्भ गरिएको केशर पुस्तकालयमा रहेका युनेस्कोको मेमोरी अफ दि वल्र्ड हेरिटेजमा समावेश भएको हजार वर्षभन्दा पुरानो सुश्रुतसंहिता संकलित छ । भूकम्पका कारण यहाँ संग्रहित थुप्रै संख्यामा रहेका सामग्रीहरु खसेर नष्ट भए । ललितपुरस्थित मदन पुरस्कार पुस्तकालय भूकम्पबाट ज्यादै प्रभावित बन्यो ।  भूकम्पका कारण नेपाली वाङ्मयको सबैभन्दा ठूलो अभिलेखालय मानिएको यस पुस्तकालयले पनि धेरै समयसम्म सेवा प्रवाह ठप्प गर्नुप¥यो । वि. सं. २०१३ सालमा स् थापित यस पुस्तकालयमा करिव ३५ हजार पुस्तक, साढे ५ हजार पत्रपत्रिका, ५० हजार तस्बिर, १० हजार हस्तलिखित ग्रन्थ एवं अनेकन श्रव्यदृष्य सामग्री संकलित छन् । यसका साथै साँखु सहरस्थित भजनघरसँगै रहेको वि. २००९ सालपछि स्थापित साँखुकै सबैभन्दा पुरानो उग्रतारा पुस्तकालय पनि भूकम्पको धक्काले क्षतिग्रस्त भएको छ । भूकम्पपछि त्यहाँका सयौ पुस्तक नजिकैको रामभजनघरमा सुरक्षित गरिएको छ । यति मात्र नभएर काठमाडौँ उपत्यका बाहिरको दोलखा जिल्लाकै पुरानो र दुर्लभ मानिएको भीम पुस्तकालयमा पनि भूकम्पका कारण क्षति पुगेको छ । भीमेश्वर नपास्थित स्वयम्भूथानमा अवस्थित २ तले भीम पुस्तकालयभित्र र बाहिर दुवैतिर चर्किएर धराप बनेकाले भूकम्पको धक्काका कारण जीर्ण भएकाले वरपर आवत जावत गर्न सकेत कठिन भएको छ । २००९ सालमा स्थापित त्रिपुरा पुस्तकालय र वि. स. २०१४ सालमा अमेरिकी पुस्तकालयको सहयोगमा स्थापित भैरव लाइब्रेरी २०२३ सालतिर आगजनीबाट ध्वस्त भएका छन्।

यसै गरी पुस्तकालयको आफ्नो छुट्टै भवन रहेको हाम्रोे यस वीरेन्द्र वहुमुखी क्याम्पस पुस्तकालमा करिव ४६००० खरिद पुस्तक , ३००० उूपहार स्वरुपका पुस्तकहरु र ३००० थेसिसहरु जस्ता सामाग्रीहरुलाइ  लिव्रा लाइव्ररी डिजिटल सफ्टवेर मार्फत काम गरिरहेका छौ । हाल प्रयोग गरिएको लिव्रा डिजिटल सफ्टवेरमा वुक क्याटालग , क्लासिफीकेसन, पुस्तक इस्यू, फिर्ता पाठको व्यक्तिगत विवरण , पुस्तकालय कार्ड , विलम्व शुल्क,जस्ता अन्य आवस्यक जो पुस्तकालयको लागि चाहिने कुराहरुको सुविधा भएको यो सफ्टवेर रहदाँ रहदै भोलिका दिनहरुमा अझै परिमार्जित सुविधा सम्पन्न सफ्टवेरको आवश्यकता पर्न सक्ने सम्भावना पनि पुस्तकालय र इलाइव्रेरीको (इन्टरनेटको) विकासले देखाएको छ। यसै वर्ष देखि ईन्टरनेटको सहायतामा थेसिसहरुलाइ पनि अनलाइन गर्न सकिने व्यवस्था गरिएकोछ।

पुस्तकालयको विकासमा देखिएका अवरोधहरुः

नेपालमा अन्य क्षेत्रको तुलनामा मोवाइल, इन्टरनेट, भेइकल, जस्ता इलोक्ट्रोनिक सामानहरुमा विकास नभएको चाहि होइन तर राजनीतिक , सामाजिक, आर्थिक साँस्कृतिक हिसावले मध्यम वर्गका मानिसहरु र त्यो भन्दा तल्लो वर्ग अझैपनि पिडीत छ शिक्षावाट वञ्चित छ । शैक्षिक विकास तथा चेतनाको अभावले , आर्थिक अभावले दुर दराजको जनताहरु अझैपनि मोटर नदेख्ने, चामल नदेख्ने एकसरो कपडाले वर्षदिन धकल्ने यस्ता त कति सुनिन्छ कति आरक्षणको नाममा धनि, नेता, ठुलावडा भनाउदा पहुचवालाहरुले सुविधा उपभोग गरिरहेका छन् । जसरी राजनीतिक हाविका कारण आक्रान्त भएको छ नेपाल त्यसैगरी पुस्तकालयका विकासमा पनि तल उल्लेखित विभिन्न अवरोधका कारणहरु छन् र हुन् भन्न सकिन्छ ।

क) सम्वन्धित कर्मचारीको गैरजिम्मेवारिता र काम प्रति जवाफदेहिता नहुनु ,

ख) सरकारले नै कर्मचारीहरुमा विभिन्न फाँटमा काम गर्ने कर्मचारीहरुको तलव तथा सेवा र सुविधाहरुमा विभेद गर्नु,
ग) तलबको लागि हाजिर गर्ने र काम गरेवापत अतिरिक्त पारीश्रमिकको माग गर्ने,
ङ) दक्ष र प्राविधिक तथ पर्याप्त कर्मचारीको व्यवस्था नहुनु,
घ) कर्मचारीहरुको कार्यविभाजन नहुनु र सम्वन्धित कार्यलय प्रमुखको गैरजिम्मेवारिता,
छ) पुस्तकालय ब्यब्स्थापन तथा सञ्चालन समितिमा समाजका प्रतिष्ठित व्यक्ति, समाजसेवी समवेश नहुनु,
च) समय समयमा कार्यलय प्रमुख, वा जिम्मेवार पदाधिकारीहरुवाट छड्के तथा अनुगमन नहुनु,
ज) बजेट भएर या नभएर आवस्यक पुस्तक, फर्निचर तथा उपकरणको व्यवस्था नहुनु,
झ) कर्मचारीलाई कार्यलय प्रमुखले सेवा र सुविधामा भेदभाव वा काखा र पाखा गर्नु,
ञ) ठुला राजनीतिक दलको संरक्षण, आड भरोसा तथा जागिरमा प्रवेश गर्नु,
ट) शैक्षिक क्षेत्रमा हुने नियुक्तिमा खुल्लम खुल्ला राजनीतिक भागबण्डा गर्नु गराउनु, र गर्न लगाउनु,
ठ) नीति तथा निर्णयहरु तर्जुमा गर्दा, र कार्यन्वयनमा अनावश्यक राजनीतिक दवाव दिनु,
ढ) ठुला राजनीतिक दलहरुले आ आफ्नो भातृसंगठन खोल्न उक्साउने, कार्यलय समयमा सडकमा हुने नारा र जुलुसमा उत्रन र उतार्न वाध्य पार्ने,
ड) दण्ड जरिवाना तथा पुरस्कार र आन्तरिक मूल्याङ्कन जस्ता विषयहरु राजनीतिक दलको इसारामा कार्यन्वयन गर्नु, गराउनु,
ण) सरकारी आड आडम्वरमा आफ्नो दल र विचारमा सहमत राख्ने कर्मचारी दोषि भए पनि कार्यवाहीवाट वचाउन अनेक हत्कण्डा अपनाउने,

पुस्तकालयको वातावरण, संरक्षण र सम्वर्धन :

नेपालमा संस्थागत रूपमा पुस्तकालय स्थापना भएको २०६ वर्ष पूरा भएको छ र पुस्तकालय दिवस दशौं वर्षमा प्रवेश गर्दैछ।पुस्तकालय दिवसको सन्र्दभमा पुस्तकालयको स्थापना र विकासमा सक्रिय योगदान दिने अग्रज व्यक्तित्वहरू र पाठक, पुस्तकालयकर्मी, शिक्षासेवीहरू बीच आपसी अनुभव र जिज्ञासाहरू साटासाट गर्नेदेखि नेपालमा पुस्तकालय दिवस बारे जानकारी गराउने र पुस्तकालयको संस्थागत विकासमा नागरिकहरू र सरकारको भूमिका बारे विविध अन्तरक्रियाहरू गरिंदै आएका छन्। राष्ट्रिय पुस्तकालय दिवस ज्ञानको उज्यालो ज्योति छर्ने शुभ दिन पनि हो। यसलाई केवल नारामा सीमित नगरी पाठक, विद्यार्थी, शिक्षक, लेखक, प्रकाशक, अनुसन्धानकर्ता, नीतिनिर्माता, राजनीतिज्ञ लगायत आम सचेत नागरिक वर्गहरूले आदरपूर्वक सम्झने दिनका रूपमा स्थापित गराउनुपर्छ।

पुस्तकालय परिवार, पुस्तकालय व्यस्थापन समिति, पुस्तकालय समिति, कार्यलय प्रमुख पाठक, शुभचिन्तकहरु सवैले विशेष गरी भवन वनाउँदा स्थानको छनौट,वरपरको वातावरणको ख्याल, भवन परिसरमा फूल वगैचा र सरसफाइ फर्निचरहरु खरीद गर्दा गुणस्तर रहेनरहेको, उपकरणको गुणस्तर छनौट तथा खरिद गर्दा, पाठ्य सामाग्रीहरुको संकलन तथा खरिदमा विशेष ध्यान दिनु उत्तिकै जरुरी देखिन्छ। जसरी विभिन्न सामाग्रीहरुको खरीद र संकलनमा पाठकको रुचिलाइ ध्यान दिनु जरुरी छ त्यसरीनै संकलन भएका उक्त सामाग्रीहरुको आगो, घाम, पानी, मुसा, चोरी , किरा धमिरा , चिसो , मर्मत आदि कुराहरुबाट जोगाउन यसको साथै पुस्तकालय परिसर सुन्दर सफा हराभरा, तथा मनोरम दृष्यको निर्माण, बत्ती, पंखा, पिउने पानीको व्यस्था, शौचालय,  पत्र–पत्रिका पुस्तकालय भित्र र वाहिर स्वच्छ र सफा, वस्ने र पढ्ने फर्निचरहरु सफा, पुस्तकालयमा प्रयोग भएका फोटोकपी जस्ता उपकरणहरुको सरसफाइ सगै सेवाग्राहीलाइ कर्मचारीहरुले तन्मन् लगाएर सुद्दमनले सेवा गरिराख्न पाए हुुन्थ्यो भन्ने जस्ता भावहरु देखिनु आवश्यक हुन्छ

 अन्त्यमा आजको यो दशौ पुस्तकालय दिवसले हामी पुस्तकालयमा कामगर्ने गराउने विधि विधान पालना गर्ने गराउने सवैको मनमष्तिष्कमा पुस्तकालय विकास प्रति केहि सोच र परिवर्तन ल्याउन सफल होस् । दशौ पुस्तकालय दिवशको अवसरमा सहभागी हुनाले यति सुधार गर्न पाइयो भन्ने सुन्न पाइयोस।

धन्यवाद ।
महेन्द्रप्रसाद अधिकारी,
पुस्तकालय अधिकृत
  भाद्र १५,२०७४